काठमाडौं । सन् २०२६ को नोबेल साहित्य पुरस्कार क्यानडाकी कवि, निबन्धकार तथा क्लासिकल साहित्यकी विद्वान् एनी कार्सनलाई प्रदान गरिएको छ। ७६ वर्षीया कार्सनलाई साहित्यमा पुर्‍याएको विशिष्ट योगदानका लागि अक्टोबर ८ मा स्विडिस एकेडेमीले पुरस्कार घोषणा गरेको हो।

एकेडेमीका अनुसार कार्सनको सिर्जनशील र नवीन साहित्यिक लेखनले प्राचीन शास्त्रीय परम्परासँग संवाद गर्दै समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गरेको छ।

कविता, गद्य, निबन्ध, अनुवाद तथा साहित्यिक समालोचनालाई नवीन शैलीमा प्रस्तुत गर्नु कार्सनको लेखनको प्रमुख विशेषता हो। प्राचीन ग्रिक तथा ल्याटिन साहित्यबाट प्रभावित उनका कृतिले पुराना मिथक र कथालाई आधुनिक सामाजिक सन्दर्भसँग जोड्ने गरेका छन्।

कार्सन तीन दशकभन्दा बढी समय क्लासिकल साहित्यको अध्यापन तथा अध्ययनमा संलग्न रहेकी छन्। उनका चर्चित कृतिमा Autobiography of Red (१९९८), The Beauty of the Husband (२००१), Nox (२०१०) र Norma Jeane Baker of Troy (२०१९) रहेका छन्।

सन् १९०१ देखि प्रदान हुँदै आएको नोबेल साहित्य पुरस्कार जित्ने कार्सन १९औँ महिला साहित्यकार भएको विवरण सार्वजनिक भएको छ। पुरस्कारसँगै उनले १ करोड २० लाख स्विडिस क्रोनर प्राप्त गर्नेछिन्।

नोबेल पुरस्कार प्रदान गर्ने औपचारिक समारोह डिसेम्बर १०, २०२६ मा स्विडेनको राजधानी स्टकहोममा आयोजना हुनेछ।