काठमाडौं । भारतीय चर्चित युट्युबर ध्रुव राठीलाई दिल्लीमा प्रस्तावित प्रदर्शनमा सहभागी हुन जानुअघि प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बिहान भारतको हरियाणा राज्यस्थित गुरुग्रामको सेक्टर–५६ मा रहेको निवासबाट उनलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेस र एनडीटीभीका अनुसार राठीलाई दिल्ली प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो। उनी निर्वाचन आयोगविरुद्ध दिल्लीको जन्तरमन्तरमा आयोजना गर्न लागिएको प्रदर्शनमा सहभागी हुन जाने तयारीमा थिए।
किन नियन्त्रणमा लिइए ध्रुव राठी?
ककरोच जनता पार्टी (सीजेपी) तथा विभिन्न विद्यार्थी र वामपन्थी समूहले शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने तयारी गरेका थिए। प्रदर्शनकारीहरूले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आएका छन्।
विशेषगरी मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (स्पेसल इन्टेन्सिभ रिभिजन–एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै उनीहरूले विरोध प्रदर्शन गर्न लागेका हुन्। निर्वाचन आयोग र सत्तारूढ भारतीय जनता पार्टीले भने मतदाता नामावलीमा गरिएको पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप अस्वीकार गर्दै आएका छन्।
दिल्ली प्रहरीले प्रस्तावित प्रदर्शनका लागि अनुमति नदिएको र निषेधाज्ञासम्बन्धी व्यवस्था लागू गरिएको जनाएको छ। प्रहरीका अनुसार प्रदर्शनमा सहभागी हुन नजान आग्रह गर्दा पनि राठीले सामाजिक सञ्जालमार्फत सहभागी हुने बताइरहेका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको हो।
दिल्लीमा सुरक्षा व्यवस्था कडा
प्रदर्शन रोक्न दिल्लीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनस्थलतर्फ जाने मार्गमा अवरोध खडा गर्नुका साथै प्रदर्शनमा सहभागी हुन आएका राजनीतिक कार्यकर्ता, विद्यार्थी तथा अन्य व्यक्तिलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
द इन्डियन एक्सप्रेसका अनुसार शनिबार दिउँसोसम्म दिल्लीका विभिन्न स्थानबाट हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो। प्रदर्शनकारीलाई जन्तरमन्तर पुग्न नदिन प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा निगरानी र सुरक्षा जाँच बढाएको थियो।
ध्रुव राठीलाई नियन्त्रणमा लिइएपछि ककroach जनता पार्टीले विरोध जनाएको छ। पार्टीले राठीसहित नियन्त्रणमा लिइएका प्रदर्शनकारी तथा विद्यार्थी कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ।
राजनीति, अर्थतन्त्र र सामाजिक विषयमा भिडियो सामग्री बनाउँदै आएका राठी भारतीय सरकारका नीतिमाथि आलोचनात्मक टिप्पणी गर्ने युट्युबरका रूपमा परिचित छन्। उनको नियन्त्रणले निर्वाचन प्रक्रियासम्बन्धी विवाद र विरोध प्रदर्शनलाई लिएर भारतमा जारी राजनीतिक बहसलाई थप चासोको विषय बनाएको छ।