काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिसकेका छन्। केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार बिहानैदेखि उत्साहजनक रूपमा मतदान प्रक्रिया जारी रहेको छ।
प्रदेशगत विवरण अनुसार दिउँसो १२:३० बजेसम्म बागमती प्रदेशबाट ४८७, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ६०६, मधेश प्रदेशबाट ४२२, कोशी प्रदेशबाट ४१०, लुम्बिनी प्रदेशबाट ३८९ र गण्डकी प्रदेशबाट ३३० मत खसेको छ।
निर्वाचन समितिले मतदानका लागि प्रारम्भिक रूपमा दिउँसो ३:०० बजेसम्मको समय सीमा निर्धारण गरेको भए पनि प्रतिनिधिहरूको सहभागिता र आवश्यकतालाई ध्यानमा राखेर समय थप गर्न सकिने जनाएको छ।