बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणका क्रममा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन नगर प्रमुख (मेयर) दीपकविक्रम शाहसहित ५ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतले दोषी ठहर भएका प्रतिवादीहरूलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।

​सजाय पाउनेहरूमा तत्कालीन नगर प्रमुख शाहका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, सब-इन्जिनियर गणेश राज रेग्मी र जाग्रिति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया रहेका छन्।

​यसैगरी, सोही भवन निर्माण प्रकरणमा तानिएका अन्य ९ जना प्रतिवादीहरूलाई भने अदालतले सफाइ दिएको छ। निर्दोष साबित भई सफाइ पाउनेहरूमा तत्कालीन अधिकृत छैटौँ नरेन्द्र नाथ, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, तत्कालीन लेखापाल नवराज जोशी, खरिदार श्याम बहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, ना.प्रा.स. सिद्धराज जैसी, प्रशासन सहायक बसन्त बहादुर थापा र निर्माण सेवाका प्रतिनिधि सुरत बहादुर शाह रहेका छन्।