काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको नीतिविपरीत छुट्टै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेपछि पार्टीभित्र नयाँ तरङ्ग पैदा भएको छ। खनालको यस कदमबारे छलफल गर्न शुक्रबार बोलाइएको केन्द्रीय संयोजन समितिको बैठकमा खनाल स्वयं भने अनुपस्थित रहनुभएको छ।
महाधिवेशनको कार्यतालिका सञ्चालनसम्बन्धी कार्यविधिका विषयमा छलफल गर्न आयोजित बैठकमा खनालले चलाएको छुट्टै अभियानबारे गहन छलफल भइरहेको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। बैठकले खनालसँग यस विषयमा स्पष्टीकरण माग गर्ने वा नगर्ने भन्नेबारे आवश्यक निर्णय लिने उहाँको भनाइ छ।
यसअघि असोज ६ गते बसेको पार्टीको बैठकले असोज १५ देखि मंसिर १५ सम्म दुई महिना देशव्यापी अभियान चलाउने निर्णय गरेको थियो। तर, सोही अवधिमा खनालले आफ्नै नेतृत्वमा बेग्लै अभियान सार्वजनिक गरेपछि नेकपाको आन्तरिक राजनीति तात्नुका साथै अनुशासनको प्रश्न खडा भएको छ।