मनासस, भर्जिनिया। अमेरिकाको भर्जिनियामा चर्चामा रहेको नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा नयाँ र महत्त्वपूर्ण मोड आएको छ। अदालतमा आफ्नै बचाउका लागि साक्षी बनेका उनका श्रीमान् नरेश भट्टले ममताको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलेआम स्वीकार गरेका छन्। नोभेम्बर ५ मा भएको सुनुवाइका क्रममा उनले घटनाको दिनको विवरण सुनाउँदै शव व्यवस्थापन गरेको बयान दिएका हुन्।
नरेशले सन् २०२४ जुलाई ३० को बिहान घरको मास्टर बाथरुममा जान खोज्दा अनौठो गन्ध आएको र त्यसपछि ममतालाई बेडको खुट्टातर्फ भुइँमा अचेत अवस्थामा भेटेको बताएका छन्।
उनका अनुसार ममताको वरिपरि रगत र खानाका टुक्रा मिसिएको बान्ता थियो तथा त्यहाँ कृषिमा प्रयोग हुने विषादीसमेत देखिएको थियो। आफू अत्यधिक डराएकोले तत्काल आपत्कालीन सेवामा फोन नगरेको दाबी गर्दै उनले शव लुकाउने उद्देश्यले पञ्जा किनेको खुलाए।
अदालतमा सरकारी वकिलको प्रश्न— “तपाईंले शव कसैले नभेटोस् भनेर टुक्राटुक्रा पारेर फोहोरमा राख्नुभएको हो?” भन्ने जिज्ञासामा नरेशले स्पष्ट रूपमा स्वीकार गरेका छन्। उनले शवलाई सानो आकारमा बनाउन खुट्टा र धड अलग गरी फोहोरका झोलामा राखेको बताएका छन्।
उनीमाथि पहिलो तहको हत्या, शव लुकाउने र मृत शरीरको अपमान गर्ने गम्भीर आरोपहरू छन्। हत्याको दोष अस्वीकार गर्दै आफूले मृत फेला पारेको दाबी गरे पनि अदालतमा उनको यो बयानले मुद्दालाई नयाँ मोड दिएको छ।