काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गर्नुभएको छ ।

मन्त्रालयको सेवा प्रवाह, कार्यसम्पादन र प्रशासनिक गतिविधिलाई प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले मन्त्री श्रेष्ठले विभिन्न महाशाखा र शाखामा पुगेर त्यहाँ भइरहेका कामकारबाही तथा कार्यप्रगतिको अवस्थाबारे जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा उहाँले सबै शाखाका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्दै कार्यसम्पादनका क्रममा देखिएका समस्या, चुनौती तथा कर्मचारीका गुनासो सुन्नुभएको थियो । साथै, मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिनुभएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयमा रहेका महत्वपूर्ण कागजात तथा दस्तावेज व्यवस्थित राख्न, अभिलेख व्यवस्थापनलाई चुस्त बनाउन र कार्यालयको भौतिक संरचनाको मर्मतसम्भार तथा सौन्दर्यकरणमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा उहाँले सेवाग्राहीबाट प्राप्त जनगुनासो, त्यसको सम्बोधनको अवस्था र आगामी दिनमा मन्त्रालयले अघि बढाउनुपर्ने कार्ययोजनाबारे समेत ब्रिफिङ लिनुभएको थियो ।

मन्त्रालयको कामकारबाहीलाई परिणाममुखी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउने तथा प्रशासनिक कार्यसम्पादनमा देखिएका कमजोरी सुधार गर्ने उद्देश्यले मन्त्री श्रेष्ठले अनुगमनलाई प्राथमिकता दिँदै आउनुभएको छ ।