काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। विदेश सचिव मिस्री सभापति लामिछानेसँग भेट गर्न बूढानीलकण्ठस्थित निवास पुगेका हुन्।
भेटका क्रममा सभापति लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा दुई देशबिच हुने उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा उनले नेपालले हाल विकास र आर्थिक कूटनीतिलाई मुख्य प्राथमिकतामा राखेको विषयमा भारतीय विदेश सचिवलाई जानकारी गराएका थिए।
भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबिच नेपाल र भारतबिचको बहुआयामिक सम्बन्धका विविध पक्षमा खुल्ला छलफल भएको छ। दुवै पक्षले दुई देशबिच रहिआएको ऐतिहासिक तथा गहिरो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।