​काठमाडौँ। विभिन्न सञ्चारमाध्यमका समाचार कक्षबाट प्रहरीद्वारा नियन्त्रणमा लिइएका सबै पत्रकारहरू रिहा भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाल सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकारहरूलाई रिहा गरिएको आधिकारिक जानकारी दिएका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र प्रेस स्वतन्त्रता तथा जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन्।

​समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरिएको घटनाप्रति चौतर्फी विरोध भएपछि उनीहरू रिहा भएका हुन्। प्रहरीले यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

​यसैगरी, नयाँ पत्रिकाको कार्यालयमा समेत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकको प्रहरी टोली पुगेको थियो। चौतर्फी दबाबका कारण प्रहरीले पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिएर कार्यालयबाट बाहिरिएको थियो। बिनापुर्जी सञ्चारगृहभित्रै प्रवेश गरी पत्रकारहरूलाई पक्राउ गरिएको यस घटनाप्रति प्रेस काउन्सिल नेपाल, विभिन्न राजनीतिक दल तथा पत्रकार सम्बद्ध संघ-संस्थाहरूले गम्भीर आपत्ति प्रकट गरेका थिए।