काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले हालै पत्रकारहरूमाथि गरिएको गिरफ्तारी र सञ्चारगृहहरूमाथिको प्रहरी हस्तक्षेपप्रति कडा आपत्ति जनाएका छन् । समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई पक्राउ गरिनु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको उनको बुझाई छ।
सार्वजनिक पदधारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजीनीति गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गर्दै उनले समाचारमा चित्त नबुझे कानुनी बाटो अपनाउनुपर्नेमा जोड दिएका छन्। विधिको शासनलाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरी प्रश्न सोध्ने पत्रकारहरूको हातमा हतकडी लगाउने दुस्साहसले सरकारलाई नै निरंकुशताको कठघरामा उभ्याएको उनको ठहर छ।
महामन्त्री पौडेलले सरकारलाई आफ्नो स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सचेत गराउँदै पक्राउ गरिएका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गर्न माग गरेका छन्। साथै, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप बन्द गरी आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोक्न उनले चेतावनी दिएका छन् ।