काठमाडौँ। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको र खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। लोकतन्त्रको प्राण र सौन्दर्य भनेकै स्वायत्त र उत्तरदायी संस्था भएको उल्लेख गर्दै रास्वपाले कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत पार्ने र सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने कार्य लोकतान्त्रिक आचरण अनुकूल नहुने स्पष्ट पारेको छ।

​प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिको कुठाराघात भएको पार्टीको ठहर छ। समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको व्यावसायिक अधिकार र धर्म भएको बताउँदै प्रकाशित सामग्रीप्रति असहमति भए कानुनी उपचार खोज्ने स्थापित विधि र निकायहरू हुँदाहुँदै त्यसलाई छलेर गरिएको धरपकड न्यायोचित नहुने विज्ञप्तिमा उल्लेख छ।

​रास्वपाले गैरकानूनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, सम्पूर्ण सञ्चार जगतप्रति ऐक्यबद्धता प्रकट गर्दै पार्टीले सञ्चारकर्मीको पेसागत मर्यादा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका लागि आफूहरू सधैँ प्रतिबद्ध रहेको जनाएको छ।