‘काठमाडौँ फिल्म फेस्टिभल, कथा सुनाउने काठमाडौँको प्राचीन परम्परालाई युवा, चलचित्र र प्रविधिसँग जोड्ने प्रयास हो – कार्यवाहक प्रमुख डंगोल’

२०८३ कार्तिक १३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखसँग आज भारतीय चलचित्रकी प्रख्यात अभिनेत्री सवाना र जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराको भेटघाट भएको छ । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा ‘काठमाडौँ फिल्म फेस्टिभल’का लागि आउनु भएकी आजमी र निर्देशक ताकायुकीको भेट भएको हो ।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले फिल्म फेस्टिभलका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘कथा सुनाउने काठमाडौँको प्राचीन संस्कृति हो । डवलीमा देखाइने नाटक, देव नृत्य, फल्चामा गाइने दाफा, संयुक्त परिवारभित्र हजुरबाले नाति नातिनासँग सुनाउने दन्त्य कथा, लोक कथा तथा पौराणिक कथा सबै कथा सुनाउने, सन्देश र मनोरञ्जनका परम्परागत माध्यम हुन् । आधुनिकतासँगै यी प्रचलनमा कमी आउन थालेपछि हामीले काठमाडौँ फिल्म फेस्टिभल आयोजना गरेर कथा भन्ने संस्कारलाई युवा र फिल्मसँग जोड्न खोजेका हौँ ।’

अभिनेत्री आजमी र निर्देशक ताकायुकीले यसको निरन्तरता र समुदायसँगको सम्बन्धका बारेका राख्नुभएको जिज्ञासा मेट्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘यात्रा थालेका छौँ । यो शुरुवात् हो । सुधार गर्दै निरन्तर अगाडि बढ्ने योजनामा छौँ ।’

‘घरमा बसेका दर्शकलाई चोकसम्म ल्याएर फिल्ममा रुचि जगाउँदै जानु काठमाडौँले यस अघि गरेको टोल टोलमा फिल्म महोत्सवका सबैभन्दा ठुलो उपलब्धि लाग्यो ।’ अभिनेत्री आजमीले भन्नुभयो, ‘अब समुदायलाई आफूसँग, आफ्नो समुदायसँग चाख लाग्दा कथा पहिचान गर्ने, सुन्न र सुनाउने सिपको विकास गराउनु पर्छ । यसले चलचित्र उद्योगको विकासका लागि ठुलो सहयोग पुग्नेछ ।’ यस्ता खालका कथा चलचित्र निर्माणका लागि राजनीतिभन्दा पनि चाखलाग्दा हुने उहाँको भनाइ छ ।

त्यस क्रममा निर्देशक ताकायुकीले यामागाता सहरले युनेस्कोको क्रियटिभ सिटिज नेटवर्कमा सदस्यता प्राप्त गर्ने नगरहरुका बिचमा भिडियो मार्फत आपसी पहिचान, संस्कार, संस्कृति र परम्पराको आदान प्रदान गरिरहेको बताउँदै, काठमाडौँ महानगरपालिकाले फिल्म फेस्टिभल आयोजना गरेर महत्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । आफ्नो सहरले गर्ने फेस्टिभलको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘हाम्रो नगरले हरेक २ वर्षमा फेस्टिभल आयोजना गर्ने गरेको छ । यस फेस्टिभलमार्फत हामीले सदस्य नगरहरुलाई एउटै मञ्चमा ल्याउन चाहेका छौँ ।’

भेटका क्रममा महानगरपालिकाका अधिकारीहरु, फेस्टिभलका डाइरेक्टर तथा क्युरेटरहरु सहभागी हुनुहुन्थ्यो ।

आजबाट सुरु हुने फेस्टिभल पर्सिसम्म विभिन्न कार्यक्रमका साथमा सञ्चालन हुनेछ ।