चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य चयनको नतिजा विवादमा परेको छ। गण्डकी प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी पूजा बाँस्तोलाले आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको भन्दै असन्तुष्टि जनाएकी छन्। बाँस्तोलाका अनुसार ईभीएमबाट आफूले ८९३ मत प्राप्त गरेकी थिइन् भने प्रवासबाट थप २० मत प्राप्त भएकाले कुल मत ९१३ पुगेको थियो। उनले उक्त मतका आधारमा आफू गण्डकी भूगोलतर्फ समग्रमा पाँचौँ स्थानमा तथा महिलातर्फ दोस्रो स्थानमा रहेको दाबी गरेकी छन्।

गण्डकी प्रदेशबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने र महिलाबाट दुई जनाको प्रतिनिधित्व अनिवार्य हुने व्यवस्था रहेको भन्दै बाँस्तोलाले आफू निर्वाचित हुनुपर्ने दाबी गरेकी छन्। तर, सार्वजनिक नतिजामा आफ्नो नाम हटाएर आफूभन्दा कम मत ल्याएकी विष्णुकुमारी गुरुङ ‘एकता’लाई निर्वाचित घोषणा गरिएको उनको आरोप छ। सार्वजनिक मतपरिणामअनुसार बाँस्तोलाले ८९३ मत प्राप्त गरेकी थिइन् भने गुरुङले ८०० मत प्राप्त गरेकी थिइन्। शुक्रबार जारी प्रेस विज्ञप्तिमा बाँस्तोलाले यो विषय व्यक्तिगत जित वा हारको मात्र प्रश्न नभई लोकतान्त्रिक पद्धतिको प्रश्न भएको उल्लेख गरेकी छन्। “यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ,” उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

बाँस्तोलाले आफूले पार्टीको निर्वाचन आयोगमा उजुरी दर्ता गराइसकेको बताएकी छन्। तर, आयोगबाट तत्काल सुनुवाइ नभएको उनको भनाइ छ। उनका अनुसार निर्वाचन आयोगका पदाधिकारीले अर्को चरणको निर्वाचन व्यवस्थापन गर्नुपर्ने, जनशक्ति अभाव भएको लगायत कारण देखाउँदै विषयलाई पछि छलफल गर्ने बताएका छन्। “म मतबाट हारेको भए त्यो हार सहर्ष स्वीकार गर्थें। तर, यहाँ म मतबाट हारेकी होइन, मलाई हराइएको छ,” बाँस्तोलाले भनिन्। उनले पार्टीभित्रबाट न्याय नपाए प्रक्रियागत रूपमा जहाँसम्म जानुपर्छ, त्यहाँसम्म जान तयार रहेको बताउँदै आवश्यक परे सर्वोच्च अदालतसम्म जाने चेतावनी दिएकी छन्।

रास्वपाको स्थापना कालदेखि सक्रिय रहँदै आएकी बाँस्तोला यसअघि पार्टीको केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्यको जिम्मेवारीमा थिइन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार गण्डकी प्रदेशबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार पवित्रा थापाले १ हजार ७६ मत, मनिष खनालले १ हजार ५२ मत, सागर भुसालले १ हजार ४० मत र सोम शर्माले ९९३ मत प्राप्त गरेका छन्। बाँस्तोलाले नतिजाको पुनः परीक्षण गरी सत्यतथ्य छानबिन गर्न माग गरेकी छन्। यस विषयमा रास्वपा निर्वाचन आयोगबाट थप औपचारिक धारणा आउन बाँकी छ।