नेपालले आइतबार आईसीसी टी-२० विश्वकपमा तेस्रोपटक खेल्दै थियो ।
बिहानै प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टिमको सामूहिक तस्बिर राखेर हौसलापूर्ण शुभकामनाका शब्द सामाजिक सञ्जालमा लेखिन् ।
प्रधानमन्त्री कार्कीको सन्देश थियो, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ।इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना! विजयी भवः। अनि धेरै माया पनि।’
प्रधानमन्त्रीको यो सन्देश आफैमा अर्थपूर्ण थियो । यसले धेरै खेलप्रेमीको ध्यान पनि तानेको थियो ।
त्यसपछि प्रधानमन्त्री कार्कीले मुम्बईको वानखेडे रंगशालामा चलिरहेको खेल बालुवाटारमै टेलिभिजन सेट अगाडि बसेर हेरिरहेको तस्बिर सार्वजनिक गरिन् ।
नेपालले १८५ रनको लक्ष्य पाएर ब्याटिङ गर्न थाल्दा नथाल्दै कार्कीले थप हौसलाका शब्द लेखिन्, ‘आईसीसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्यान्डविरुद्ध नेपालको खेल: बलिङ राम्रो भो, ब्याटिङ पनि राम्रो होस् ।’
नभन्दै नेपालले यसपालि ब्याटिङ पनि राम्रै गर्यो । विश्व च्याम्पियन भइसकेको टेस्ट राष्ट्रसँगको भेटमा अन्तिम समयसम्म टिक्नु आफैँमा एक चानचुने सफलता थिएन ।
दुर्भाग्यवश नेपाल ४ रनले पराजित भयो ।
खेलका प्रत्येक चरणमा चासो लिएर खेलाडीलाई यसरी हौसला बढाउने सम्भवतः कार्की नै नेपालको पहिलो प्रधानमन्त्री हुन् ।