गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको नियमित बैठक सम्पन्न भएको छ।
प्रतिनिधि सभाका समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दर्ता सम्पन्न भएपछि हालसम्मको सुरक्षा अवस्था समीक्षा गर्न र अबको रणनीतिबारे छलफल गर्न गृह मन्त्रालयमा समितिको बैठक बसेको हो।
उम्मेदवारी दर्ता सम्पन्न भएसँगै अब चुनावी सुरक्षा योजना पनि नयाँ चरणमा प्रवेश गरेको र निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बैठक बसेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीका योजनाबारे समीक्षा भएको छ।
निर्वाचन सुरक्षा योजना सम्बन्धमा चारवटै सुरक्षा निकायले गरेका तयारीका सम्बन्धमा बैठकमा ब्रिफिङ गरिएको थियो। बैठकमा सुरक्षा अवस्था र सुरक्षा चुनौतीबारे विश्लेषण समेत भएको थियो। बैठकमा सबै सुरक्षा निकायले समन्वय गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनेबारे छलफल गरेका छन्।
गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था रहेको छ।
बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ।
त्यस्तै, राजनीतिक दल र उम्मेदवारहरूको प्रचार–प्रसार र अभियानलाई व्यवस्थित गराउन सुरक्षा व्यवस्थालाई सुदृढ र भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय समेत गरेको छ। निर्वाचनको प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न यसको निगरानीलाई प्रभावकारी बनाउने र गैरकानुनी भएको पाइएमा त्यसको कडाइका साथ कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।