मध्यम वर्गीय परिवारको
एक कोठाको एक किल्लामा
देशको सरकार झुण्डिरहेछ
खिया लागेको किल्लामा
सिंहदरबार टङ्गिरहेछ।
जब देखि त्यो त्यहाँ छ
र जब पहिलेको पुरानो फ्रेम फुट्यो
र त्यहाँभित्रको नारायणहिटि च्यातिइयो
र जब बाले बडो आशाका साथ
उत्साह अनि उमङ्गका साथ
घर सजाउन भनी सिंहदरबार भित्र्याए
र सिंहदरबार तब देखि उस्तै छ
चम्किलो, गम्किलो
सँधै झैँ आस लाग्दो
तर घर त बिगि्रएको आभास पाएपछी
बा आफै एकदिन सिंहदरबार तिर अघि बढ्छ्न्
र देख्छन्
त्यसको पछाडी
अड्डा बनाएर
अण्डा बनाएर
मोज मस्तीले
मदमत्त मात्तिएका माउसुलीहरु
जो सँधै विस्ट्याइदिन्छन्
हजुरबुबाले विहान विहानै पाठ गर्न भनी खोलेका
धर्मग्रन्थका किताबहरुमा
र दुषित बनाइदिन्छन् पूजाका स्तोत्र अनि ऋचाहरु,
जो बाबू बुद्ध टङ्गिएको लुम्बिनीको पट्टालाई मैलाइदिन्छन्,
जो माउसुली अर्को भित्तामा निरासाले निसासिएर नियालिएरहेका विपिका तस्वीरलाई खसाइदिन्छन् भुइँमा,
जो माउसुली नेपालको नक्सालाई च्यातिदिन्छन्,
जो माउसुली राती त्यहाँ सुत्ने युवाहरुका मुखमा मुतिदिन्छन्,
जो माउसुली घरको भान्सामा छिरेका छैनन्
र देखेका छैनन् घरमा खान छ वा छैन
बस् आफू बाहिर बाट आउने किरा फट्याङ्ग्राहरु टन्न खाएर
मोज गरेर
भोज गरेर
भुँडी बढाएका छन्,
आजभोली यदाकदा
हजुरबुबा त्यहिँ टङ्गिएको पुरानो फ्रेमलाई सम्झिबस्नुहुन्छ
र घरमा आउने जानेहरुलाई
जाने आउनेहरुलाई
नाति नातिनिहरुलाई
आफ्नै जस्ता बुढा बृद्वहरुलाई
फ्याकिँएको फ्रेमको महात्म्य सुनाउनुहुन्छ,
युवाहरु आजित भएर
कोहि घरेलु नुक्सा आजमाइरहेछन्
र कोहि बजारबाट आयात गरेर केमिकल छरिरहेछन्,
र बा!!
आजकल सोचिरहन्छन्
घोत्लिरहन्छन्।
कहिलेकाही घरमा कसैले
सिंहदरबारनै निकालेर फ्याकिँदिम् भन्दा
बा
निकै सुस्त अनि गम्भीर भैकन भन्छन्-
“सिंहदरबार त ठीकै छ। बस् त्यहाँभित्रका माउसुली भएनन्।”