नेपाल ट्वान्टी–२० विश्वकपमा आइतबार इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।

आफ्नो विश्वकप यात्राको पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई अन्तिम समयसम्मै दबाबमा राख्न सफल भए पनि पराजयको शिकार हुनुपरेको छ ।

पहिला बलिङ गरेको नेपालले १८५ रनको विशाल लक्ष्य पछ्याउनुपरेको थियो । लोकेश बमले २० बलमा ३९ रन बनाए पनि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १८० रन मात्र बनाउन सक्यो ।

मुम्बईको वानखडे रंगशालामा १७ हजार दर्शकका माझ नेपाल र इंग्ल्यान्डको खेल निकै सनसनीपूर्ण बनेको थियो । नेपालले अन्तिम बलसम्म इंग्ल्यान्डको प्रतिरोध गरेको थियो ।

लोकेशले ४ चौका र २ छक्का प्रहार गरे पनि अन्तिम २ बलमा बाउन्ड्री प्रहार गर्न नसक्दा नेपाल ट्वान्टी–२० विश्वकपमा टेस्ट राष्ट्रसामु विजयको मुखमा पुगेर थकथकीपूर्ण तरिकाले रोकिनुपर्‍यो ।

अन्तिम ओभरमा विजयका लागि १० रन चाहिने अवस्थामा नेपालले ५ रन मात्र बनाउन सक्यो ।

कुशल भुर्तेल र आसिफ शेखले ४ ओभरभित्र ३७ रन जोडेर राम्रो सुरुआत गरेका थिए । एक चौका प्रहार गरेका आसिफ ९ बलमा ७ रन बनाई आउट भए । दोस्रो ओभरदेखि कुशलले निकै आक्रामक खेले । उनले १७ बलमा २९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५४ बलमा ८२ रनको साझेदारी गरे । दीपेन्द्र २९ बलमा ४४ रन बनाई आउट भए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यस क्रममा उनले टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गरे । उनी नेपालबाट टी–२० मा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

रोहितले ३४ बल खेली समान २ चौका र छक्कासहित ३९ रन बनाए । आरिफ शेख १ छक्का प्रहार गरी ८ बलमा १० रन बनाई आउट भए । गुलशन झा पनि १ रनमै आउट भए ।

लिएम डावसनले कसिलो बलिङ गर्दा आसिफ र रोहित पेभिलियन फर्किन बाध्य भए । लिएमले ४ ओभरमा २१ रन खर्चेर दुवै विकेट लिएका थिए ।

टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १८४ रन बनाएको थियो ।