काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
आयोगले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट सुरक्षा अवस्थाको समीक्षा, सुरक्षा योजनाको मूल्यांकन तथा आवश्यक मार्गदर्शनका आधारमा विभिन्न निर्णय गरेको हो। सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयलाई लेखी पठाइएको आयोगले जनाएको छ।
आयोगका अनुसार फागुन १८ गते राति १२:०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिनेछ। जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका संयन्त्र परिचालन गरी निषेधित गतिविधि हुन नदिने र उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही गरी आयोगलाई जानकारी गराउने व्यवस्था मिलाइनेछ।
त्यस्तै, मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ। फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सवारी आवागमनमा प्रतिबन्ध रहनेछ। एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतसम्बन्धी सवारीसाधन भने सञ्चालनमा रहनेछन्।
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। टिकट भएका यात्रुले निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधनमार्फत विमानस्थल आवतजावत गर्न पाउने व्यवस्था गरिनेछ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ बमोजिम मतदान मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने निर्णय पनि गरिएको छ।
मतदानका लागि मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। नामावलीमा नाम भएका मतदाताले तीमध्ये कुनै एक परिचय खुल्ने कागजात प्रस्तुत गरेपछि मतदान गर्न पाउनेछन्।
यसैगरी, सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा पास वितरण इकाई स्थापना गरिनेछ। उक्त इकाईमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका दुई–दुई जना कर्मचारी खटाइने जनाइएको छ।
आयोगले निर्णय कार्यान्वयनमा सहजीकरण र समन्वय गर्न सम्पूर्ण सरोकारवालासँग आग्रह गरेको छ।