सुशीला कार्की नेतृत्वको सरकारका शिक्षामन्त्री महावीर पुन पनि राजीनामा दिने भएका छन्।

चुनावी मैदानमा उत्रिनका लागि पुन पनि राजीनामा दिन लागेका हुन्।

यसअघि कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेल गरी तीन मन्त्रीले सरकार छाडेर चुनावी मैदान रोजिसकेका छन्। उनीहरुकै बाटो पछ्याएर मन्त्री पुन समेत चुनावी मैदानमा उत्रिन लागेका हुन्।

यद्यपि पुनले कुनै दलको टिकट लिएर चुनावमा जान लागेका हुन् या स्वतन्त्र लड्न खोजेका हुन् भनेर खुलाएका छैनन्। उनले आफ्नो चुनाव क्षेत्रबारे पनि कसैलाई केही संकेत गरेका छैनन्।

पुनको गृहजिल्ला कास्की हो।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई जेनजीहरुको सिफारिसमा प्रधानमन्त्री कार्कीले मन्त्री बनाएकी थिइन्।

पछिल्लो समय पुनले केही ऐन र नियमावली संशोधन गरेर सुधारका काम गर्न खोज्दा सरकारभित्रैबाट र राष्ट्रपतिबाट असहयोग भएको भन्दै असन्तुष्टि पोखिरहेका थिए।

उनले केही बैठकहरुमा आफू अब प्रधानमन्त्री बनेर सुधारका काम गर्ने बताएका थिए। उनको यस भनाइलाई कसैले गम्भीरतापूर्वक नलिएर ठट्टाका रुपमा बुझेका थिए।

उनीनिकट स्रोतले भन्यो, ‘आजै मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गर्ने तयारी छ। यस विषयमा प्रधानमन्त्रीज्यूलाई पनि जानकारी गराइसकिएको छ।’