अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिसम्बन्धी मुद्दामा बयान फेर्ने साक्षीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदातलमा दर्ता भएको रामबाबु महतो भन्ने रामबाबु महतो कोइरी भएको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी जीवराज पोखरेलले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगमा गरेको बयानभन्दा व्यहोरा तथा तथ्यसमेत फरक हुने गरी प्रतिकूल बकपत्र गरेकोले उनीमाथि थप अनुसन्धान गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
सरकारी साक्षीको रुपमा पेस गरिएका महोत्तरी, बर्दिवास नगरपालिका वडा नं. ६ बस्ने जीवराज पोखरेलले कोइरीलाई गैरकानुनी सम्पत्ति आर्जन गर्न सहयोग पुर्याएको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी छ।
जीवराजले श्रीमती सावित्री पोखरेलको नाममा रहेको जिल्ला धनुषा, हरिहरपुर, वडा नं. १ को कि.नं. २६१५ र १६०१, क्षेत्रफलको जग्गा रामबाबुकी श्रीमती माला कुमारी महतोको नाममा रजिस्ट्रेसन पास गर्दा सावित्री पोखरेलसँग २५ लाख रुपैयाँ लिखतमा राखेको तर वास्तविक कारोबार मूल्य ५२ लाख २३ हजार भएको भनी सुरुमा अख्तियारमा बयान दिएका थिए। उनले जग्गा बिक्रीवापत ५२ लाख २३ हजार रुपैयाँ आफ्नै नामको बैंक खातामा प्राप्त गरेको सबुद प्रमाण समेत देखाएका थिए।
उनले अनुसन्धानमा सहयोग गरेपछि अख्तियारले सजाय छुट हुने गरी अदालतमा अभियोगपत्र पेस गरेको थियो। तर विशेष अदालत, काठमाडौंमा बकपत्र गर्दा आयोगमा गरेकोभन्दा फरक व्यहोरा लेखाएपछि अख्तियारले जीवराजविरुद्ध पनि मुद्दा चलाएको हो।
उनले २७ लाख २३ हजार रुपैयाँको कारोबारलाई लुकाई छिपाई आपसी मिलेमतोमा मूल मुद्दाका प्रतिवादी रामबाबुलाई गैरकानुनी सम्पत्ति आर्जन गर्न सहयोग पुर्याएको अख्तियारको दाबी छ। अब उनलाई पनि जरिवाना र कैदको सजाय हुनुपर्ने मागदाबी लिई आज विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ।
रामबाबु काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर (सातौं तह) हुन्।