मध्यपूर्वमा बढ्दो युद्ध तनाव र सुरक्षा जोखिमका कारण सन् २०२६ को इ–स्पोर्ट्स वर्ल्ड कप साउदी अरेबियाको रियाधबाट फ्रान्सको राजधानी पेरिस सारिएको छ। आयोजकका अनुसार प्रतियोगिता अब सन् २०२६ जुलाई ६ देखि अगस्ट २३ सम्म पेरिसमा आयोजना हुनेछ। इ–स्पोर्ट्स वर्ल्ड कपको आधिकारिक घोषणामा पनि सन् २०२६ को संस्करण पेरिसमा हुने उल्लेख गरिएको छ। पेरिस इ–स्पोर्ट्स वर्ल्ड कप आयोजना गर्ने रियाधबाहिरको पहिलो शहर बन्नेछ।

यसअघि प्रतियोगिता साउदी अरेबियाको रियाधमा हुने तयारी थियो। तर मध्यपूर्वमा जारी तनाव, यात्रा असहजता र खेलाडी तथा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता पेरिस सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसपटकको इ–स्पोर्ट्स वर्ल्ड कपको कुल पुरस्कार राशि ७ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब १० अर्ब नेपाली रुपैयाँभन्दा बढी रहने बताइएको छ। यो रकम क्लब च्याम्पियनसिप, विभिन्न खेलका प्रतियोगिता, उत्कृष्ट खेलाडी पुरस्कार र छनोट प्रतियोगितामा वितरण हुनेछ। क्लब च्याम्पियनसिपतर्फ मात्रै ३ करोड अमेरिकी डलर छुट्याइएको छ।

नेपाली इ–स्पोर्ट्स समर्थकका लागि यसपटकको प्रतियोगिता अझ विशेष हुने देखिएको छ। पब्जी मोबाइलतर्फ नेपालका होरा ई–स्पोर्ट्स र टिम टीटुके सहभागी हुने भएपछि नेपाली पब्जी समुदायमा उत्साह बढेको छ। यसअघि होरा ई–स्पोर्ट्सले सन् २०२५ को पब्जी मोबाइल वर्ल्ड कपमा नेपालबाट प्रतिनिधित्व गर्दै नवौँ स्थान हासिल गरेको थियो। होरा ई–स्पोर्ट्स र टिम टीटुकेले अन्तर्राष्ट्रिय पब्जी प्रतियोगितामा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्। पछिल्लो समय दुवै नेपाली टोली विश्वस्तरीय मञ्चमा नेपालको उपस्थिति बलियो बनाउने टोलीका रूपमा हेरिएका छन्।

इ–स्पोर्ट्स वर्ल्ड कप विश्वकै ठूलो ई–खेल प्रतियोगितामध्ये एक मानिन्छ। प्रतियोगितामा विभिन्न लोकप्रिय खेलका विश्वस्तरीय टोली र खेलाडी सहभागी हुनेछन्। स्थान परिवर्तन भए पनि पुरस्कार राशि, प्रतियोगिताको महत्व र विश्वव्यापी आकर्षण भने यथावत रहने आयोजकको भनाइ छ।