यस वर्षको आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालको अभियान आजबाट सुरु हुँदै छ ।
समूह चरणको पहिलो खेलमा नेपालले बलियो इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल भारतीय समयअनुसार दिउँसो ३ः१५ बजे मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा हुनेछ ।
इंग्ल्यान्डले शुक्रबार साँझ वानखेडेमा अभ्यास गरेको थियो । अभ्यासका क्रममा इंग्लिस ब्याटरले हानेका लामो प्रहार दर्शकदीर्घासम्म पुगेका थिए, जसले उनीहरूको आक्रामक तयारी झल्काउँथ्यो । परम्परागत रूपमा वानखेडे उच्च स्कोरका लागि परिचित मैदान हो । ट्वान्टी–२० क्रिकेटमा यहाँको औसत स्कोर करिब १ सय ९४ रन रहेको छ । पछिल्लोपटक भारतले यही मैदानमा इंग्ल्यान्डविरुद्ध ९ विकेट गुमाउँदै २ सय ४७ रन बनाएको थियो, जवाफमा इंग्ल्यान्ड १०.३ ओभरमै ९७ रनमा अलआउट भएको थियो ।
त्यसयता ह्यारी ब्रुकको कप्तानीमा इंग्ल्यान्डले ट्वान्टी–२० क्रिकेटमा सशक्त प्रदर्शन गर्दै आएको छ र थोरै मात्र खेल गुमाएको छ । फ्ल्याट विकेट र सानो बाउन्ड्रीका कारण वानखेडे इंग्ल्यान्डका आक्रामक ब्याटरका लागि अनुकूल मानिन्छ । यद्यपि साँझतिर हुने खेलमा शीतको प्रभाव परे बलरलाई केही मद्दत पुग्नसक्ने सम्भावना पनि रहन्छ ।
अभ्यासका क्रममा इंग्ल्यान्डका स्पिनरले घाँसे विकेटमा राम्रो टर्न पाएको देखिएको थियो । यसले नेपाललाई केही आशा दिएको छ । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र शेर मल्ल जस्ता बलर रहेका कारण नेपालको स्पिन आक्रमण तुलनात्मक रूपमा बलियो मानिन्छ ।
तर इंग्ल्यान्डले आफ्नो स्वभावअनुसार लय समात्न सके नेपालले अतिरिक्त मेहनत गर्नुपर्नेछ । नेपाल–इंग्ल्यान्डको खेल दिउँसो हुने भएकाले ब्याटरलाई अझ सहयोग पुग्नसक्ने अनुमान गरिएको छ ।
इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले शुक्रबारको पत्रकार सम्मेलनमा टोली आत्मविश्वासका साथ आएको बताए । “हामी यहाँ पूर्ण आत्मविश्वास र भरोसासाथ आएका छौं, तर त्यसले केही सुनिश्चित गर्दैन,” उनले भने, “यस विश्वकपमा सहभागी सबै टोली गुणस्तरीय छन् । नकआउट चरणमा पुगेपछि चुनौती अझ बढ्छ । भारतीय भूमिमा भारत सबैभन्दा बलियो दावेदार हो र उसलाई हराउन सजिलो हुँदैन ।”
ज्याक्सले नेपालको क्रिकेट पनि उकालो यात्रामा रहेको उल्लेख गरे । “नेपाल उदयीमान क्रिकेट राष्ट्र हो । ट्वान्टी–२० विश्वकपको दायरा फराकिलो हुँदा नेपालजस्ता राष्ट्रले अवसर पाइरहेका छन्,” उनले भने ।
नेपाली टोली चेन्नईमा दुई अभ्यास खेल खेलेर शुक्रबार मात्र मुम्बई पुगेको हो । शनिबारको प्रशिक्षण रद्द भएपछि नेपाल आइतबार सोझै वानखेडेमा मैदान उत्रनेछ । अभ्यास खेलमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र आसिफ शेखले अर्धशतक बनाएका थिए भने सन्दीप जोराले ठोस इनिङ खेलेका थिए । तर जोफ्रा आर्चर र जोस टङजस्ता तीव्र बलरको सामना गर्नु नेपाली ब्याटरका लागि सजिलो हुने छैन । कप्तान रोहित पौडेल, कुशल भुर्तेललगायत ब्याटरका लागि यो ठूलो परीक्षा हुनेछ ।
नेपाल र इंग्ल्यान्डबीच यो पहिलो अन्तर्राष्ट्रिय भेट हो । जोस बटलर, बेन डकेट, फिल साल्टलगायत इंग्लिस ब्याटर वानखेडेको ब्याटिङमैत्री विकेटको फाइदा उठाउने योजनामा छन् ।
आजका विश्वकप खेल
अफगानिस्तानविरुद्ध न्युजिल्यान्ड – ११ः१५ बजे
नेपालविरुद्ध इंग्ल्यान्ड – ३ः१५ बजे
श्रीलंकाविरुद्ध आयरल्यान्ड – ७ः१५ बजे