पत्रकार शोभराज बरालले आफू र धिरज बस्नेतलाई पक्राउ गर्नुको पछाडि प्रधानमन्त्री कार्यालयको दबाब रहेको दाबी गरेका छन्। पक्राउपछि रिहा गर्ने क्रममा साइबर ब्युरोका एक प्रहरी इन्स्पेक्टरले प्रधानमन्त्री कार्यालयकै दबाबमा आफूहरूलाई पक्राउ गरिएको बताएको बरालको भनाइ छ।
सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गर्दै बरालले प्रहरी इन्स्पेक्टरलाई उद्धृत गरेका छन्, ‘प्रधानमन्त्री कार्यालयको दबाबमा हामीले काम गर्नुपर्छ, तपाईंहरूलाई थाहै छ। प्रहरी बदनाम हुने काम नगरिदिनुहोला, प्लिज!’
बरालले प्रहरी अधिकारीको उक्त भनाइ र दीपा दाहालले दिएको अभिव्यक्तिबीच विरोधाभास देखिएको भन्दै कसको कुरा पत्याउने भन्ने अन्योल रहेको उल्लेख गरेका छन्।
उनका अनुसार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा करिब पाँच घण्टा र साइबर ब्युरोमा केही मिनेट बिताउँदा प्रहरीको व्यवहार र हाउभाउले आफूलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कमजोर बनाएर राजीनामा दिन बाध्य पार्ने प्रधानमन्त्री कार्यालयको षड्यन्त्र हुन सक्ने आशंका भएको छ।
बरालले आफ्नो पक्राउलाई प्रहरी नेतृत्वमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा बुझेको बताएका छन्।