अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले जन्मदर्ता तथा नागरिकता बनाउने प्रक्रियामा गलत लिखत तयार पारिएको, सरकारी कागजात सच्याइएको तथा गलत प्रतिवेदन दिइएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ तथा जिल्ला प्रशासन कार्यालय, पर्साबाट जन्मदर्ता र नागरिकता जारी गर्ने क्रममा अनियमितता भएको पाइएको थियो। अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिहरूले गलत विवरणका आधारमा कागजात तयार पारी सरकारी अभिलेखमा हेरफेर गरेको, झुटा विवरणलाई प्रमाणित गरेको तथा त्यसबाट राज्यलाई नोक्सानी पुर्याएको निष्कर्ष आयोगले निकालेको छ।

यस प्रकरणमा नगर प्रमुख राजेशमान सिंहसहित कुल ७ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतका विभिन्न कसुर आकर्षित हुने भन्दै मुद्दा दायर गरिएको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिम कसुर कायम गरी सोही ऐनअनुसार कैद तथा जरिवानाको सजाय माग गरेको छ। साथै ऐनको दफा १९ को उपदफा (२) बमोजिम थप सजायको समेत मागदाबी गरिएको आयोगले जनाएको छ।
अख्तियारले सरकारी कागजातको विश्वसनीयता र सार्वजनिक प्रशासनको पारदर्शितामाथि असर पर्ने किसिमका कार्यमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ। अब उक्त मुद्दामाथि विशेष अदालतमा सुनुवाइ हुने छ, जहाँ प्रस्तुत प्रमाण तथा प्रतिवादीहरूको जवाफका आधारमा अन्तिम फैसला हुनेछ।