​काठमाडौँ। भारतको नयाँ दिल्लीमा आयोजित प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालका गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा र विपद् व्यवस्थापनका लागि नयाँ संरचना निर्माणको प्रस्ताव गर्नुभएको छ। असोज २७ गते सम्पन्न बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले आतङ्कवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सुरक्षित सूचना आदानप्रदान र संयुक्त प्रतिकार्य हुनुपर्नेमा जोड दिनुभयो।

​साथै, जलवायु परिवर्तनका कारण हिमाली तथा तटीय क्षेत्रमा बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न उहाँले ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गरी संयुक्त कार्यदल गठन गर्न औपचारिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ।

​बैठकको अवसरमा गृहमन्त्री गुरुङ र भारतीय समकक्षी अमित शाहबीच छुट्टै द्विपक्षीय भेटवार्तासमेत भएको छ। भेटमा सीमा सुरक्षा र साझा चासोका विषयमा सहकार्य बढाउने सहमति हुनुका साथै नेपाली उद्योगी तथा व्यवसायीहरूले भारतीय बजार पहुँचका क्रममा भोग्दै आएको ‘बीआईएस प्रमाणीकरण’ लगायतका प्राविधिक समस्याबारे गृहमन्त्री गुरुङले भारतीय ध्यानाकर्षण गराउनुभएको थियो। उक्त चासोप्रति भारतीय गृहमन्त्री अमित शाहले सकारात्मक प्रतिक्रिया दिँदै समस्या समाधानमा सघाउने आश्वासन दिनुभएको छ।