काठमाडौँ। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैर-आवासीय उच्चायुक्त महामहिम प्रा. अनिल सुकलालबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। मन्त्रालयमा भएको भेटका क्रममा उच्चायुक्त सुकलालले मन्त्री साहलाई नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई दिँदै हालै नेपालमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो।
भेटवार्तामा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र दक्षिण अफ्रिकाको स्वतन्त्रता सङ्ग्रामका क्रममा नेपालले पुर्याएको ऐतिहासिक सहयोगको स्मरण गरिएको थियो। छलफलका क्रममा दुई देशबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन व्यापार, लगानी र प्रविधि हस्तान्तरणमा सहकार्य बढाउने सहमति भएको छ।
विशेष गरी दक्षिण अफ्रिकी बजारमा नेपाली उत्पादनहरूको पहुँच बढाउने, तथा नेपालका जलविद्युत्, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावना खोजी गर्ने विषयमा विस्तृत चर्चा भएको थियो। दुवै देशका निजी क्षेत्र र व्यवसायीहरूबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी व्यापार प्रवर्द्धन गर्न एक ‘संयुक्त व्यावसायिक मञ्च’ (Joint Business Forum) गठन गर्नेसमेत तयारी अघि बढाइएको छ। यस भेटले नेपाल र दक्षिण अफ्रिकाबीचको द्विपक्षीय व्यापारिक साझेदारी र जलवायु परिवर्तनका क्षेत्रमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः पुष्टि गरेको छ।