काठमाडौँ। नेपालका हिमाली क्षेत्रहरूलाई पर्यटन र पूर्वाधारसँग जोड्ने उद्देश्यका साथ अघि सारिएको ‘पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग’ निर्माणको सम्भाव्यता अध्ययन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

​पहिलो चरणअन्तर्गत अपिनाम्पा-सैपाल-बडीमालिका (१०५ किमि) र नुम-पाथीभरा (४५ किमि) गरी जम्मा १५० किलोमिटर सडक खण्डको सम्भाव्यता अध्ययनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

​सम्झौताअनुसार नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले यस आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षहरूको अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ। सोही अध्ययन प्रतिवेदनका आधारमा बडीमालिका र पाथीभराजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूलाई सहज सडक सञ्जालमा जोड्न आवश्यक पूर्वाधार निर्माणको काम अघि बढाइनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिका लागि यो राजमार्ग निर्माणलाई एक नवीन र दूरगामी कार्यक्रमका रूपमा लिइएको छ।