प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
शेरचनविरुद्ध विप्रेषण वापतको रकमको ब्याज ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा र संचालक समितिको निर्णय नगराई गुण एयरलाइन्सको नाममा १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप छ।
२० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गर्दै मुदा दायर भएको छ। शेरचनले बयानका क्रममा ऋणि संस्था गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा पछि अनुमोदन गराउने गरी संचालक समितिको पूर्वस्वीकृति नलिई ऋण प्रवाह गरेको स्वीकार गरेका थिए।
प्रभु बैंकलाई प्राप्त हुनु पर्ने ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज बैंकमा प्राप्त नभएको जनाउँदै बैंकले पत्र सीआईबीलाई पठाएको थियो।