चीनको यात्रा गर्नु भनेको समयलाई नयाँ अर्थमा बुझ्नु रहेछ । प्रविधिको नवीनतम उपलब्धि (Latest Technological Advancement) सँग साक्षात्कार गर्नु रहेछ ।
जस्तो कि हाईस्पिड रेल ।

चीनको हाईस्पिड रेल विश्वकै अद्भुत पूर्वाधारमध्ये एक हो । पहिलोपटक सिचुवान प्रान्तको राजधानी छेङ्दुदेखि लुजोसम्म हाईस्पिड रेलमा यात्रा गर्ने अवसर मिलेको थियो । पहाडी भूगोलमा बनेका पुल, सुरुङ र गहिरा खोँचहरू पार गर्दै अविश्वसनीय गतिमा कुदिरहँदा पनि यात्रा यति शान्त र सहज थियो कि रेल जमिनमा होइन, आकाशमा कुदेजस्तो लागेको थियो ।

आज भने बेइजिङदेखि सांघाईसम्म जी–१७ हाईस्पिड रेलमा यात्रा गर्ने अवसर जुरेको छ । चीनमा बेइजिङलाई राजनीतिक राजधानी र सांघाईलाई आर्थिक राजधानीका रूपमा चिनिन्छ । यी दुई महासहरलाई जोड्ने रेल प्रतिघण्टा ३५० किलोमिटरको गतिमा दौडिरहेको छ । र, यो चीनको सबैभन्दा व्यस्त अनि व्यावसायिक रूपमा सफल हाईस्पिड रेल पनि हो ।

१,३२५ किलोमिटर लामो दूरी केवल ४ घण्टा ३५ मिनेटमा पूरा हुनेछ । नेपाली सन्दर्भमा तुलना गर्दा, महेन्द्र राजमार्गको पूर्वी छेउ काकडभिट्टादेखि पश्चिमी सिमाना गड्डाचौकी (महेन्द्रनगर) सम्मको १,०२८ किलोमिटर दूरी ४ घण्टामा पार गर्न सकिने रहेछ। चीनमा हाईस्पिड रेलको सञ्जाल करिब ५४ हजार किलोमिटर लामो छ, जुन विश्वभरका कुल हाईस्पिड रेलमार्गको ७० प्रतिशतभन्दा बढी हो । अर्थात्, संसारका बाँकी सबै देशको संयुक्त सञ्जालभन्दा पनि चीनको सञ्जाल ठूलो छ ।

चीनले चकित पारिरहेको कुरा गति र सञ्जालको लम्बाइ मात्र होइन, यसभित्रको सुविधा र आनन्द पनि हो । यहाँ फुसिङ (Fuxing) शृंखलाका रेललाई पुस्तकालयजत्तिकै शान्त भन्ने गरिन्छ । पहिलो श्रेणीको कोचमा बसेर झ्यालबाहिरको दृश्य नियाल्दा कुनै गडगडाहट सुनिँदैन, केवल सहज गति र अद्भुत स्थिरताको अनुभूति हुन्छ । खानपिन र सत्कार, सफा शौचालय, निःशुल्क वाईफाई, मोबाइल चार्जिङ पोर्ट र फराकिला सिटहरूले रेलयात्रालाई धेरै हदसम्म हवाई यात्राभन्दा पनि आरामदायी बनाइदिन्छ ।

आधुनिक हाईस्पिड रेलको इतिहास जापानले सन् १९६४ मा शिन्कान्सेन (बुलेट ट्रेन) सुरु गरेसँगै प्रारम्भ भएको मानिन्छ । त्यसपछि फ्रान्सले टीजीभीमार्फत गति र प्रविधिमा नयाँ आयाम थप्यो । तर चीनले यी अनुभवलाई आत्मसात् गर्दै विशाल भौगोलिक विविधतामा विश्वकै सबैभन्दा ठूलो हाईस्पिड रेल सञ्जाल निर्माण गरेर नयाँ इतिहास रचेको छ ।

सम्बन्धित सामग्री:

सबैभन्दा उल्लेखनीय पक्ष भनेको चीनले आफ्नै प्रविधिमा आधारित प्रणाली विकास गर्नु हो । सीटीसीएस–३ (CTCS-3) ट्रेन नियन्त्रण प्रणाली र बेइडोउ (BeiDou) स्याटेलाइट नेभिगेसनमार्फत रेलको अवस्थालाई अत्यन्त सूक्ष्म तहमा निरन्तर अनुगमन गरिन्छ । छेङ्दुदेखि लुजोको पहाडी मार्ग होस् वा बेइजिङदेखि सांघाईको समथर मैदान, जहाँ पुगे पनि गति, सुरक्षा र आरामको स्तर समान रूपमा अनुभव गर्न सकिन्छ ।

रेल प्रविधिमा चीनको यात्रा अझै रोकिएको छैन । सीआर–४५० (CR450) मोडेलको सफल परीक्षण भइसकेको छ, जसले ४०० किलोमिटर प्रतिघण्टाको व्यावसायिक गति र ४५३ किलोमिटर प्रतिघण्टाको परीक्षण गति हासिल गरेको छ ।

म्याग्लेभ (Maglev) प्रविधिमार्फत ६०० किलोमिटर प्रतिघण्टाभन्दा बढी गति हासिल गर्ने लक्ष्यमा पनि काम भइरहेको यहाँका विज्ञहरू सुनाउँछन् । विकासको यही गतिलाई हेर्दा बेइजिङ-सांघाई यात्रा दुई–तीन घण्टामै पूरा हुने दिन धेरै टाढा छैन ।

चिनियाँ प्रोफेरहरूले बारम्बार भनेको सुन्छु- चाइनिज स्पिड । यहाँ काम गर्ने शैलीदेखि पूर्वाधार निर्माणसम्म हरेक क्षेत्रमा यही वेग (हाईस्पिड) झल्किन्छ ।

चीनको हाईस्पिड रेलले भौगोलिक दूरी मात्र छोट्याएको छैन, यसले समय, गति र आधुनिक पूर्वाधारको अवधारणालाई नै पुनर्परिभाषित गरेको छ । तीव्र र भव्य त छँदै छ, सुरक्षित, सहज, शान्त अनि हरित विकासको नमुना चीनले आफ्ना रेलमार्फत संसारलाई दिइरहेको छ ।

(अध्ययन भ्रमणका क्रममा चीनको राजधानी बेइजिङमा रहेका पत्रकार रामबहादुर रावलको फेसबुकबाट)