काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
भेटवार्ताका क्रममा अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना, निर्माणाधीन ऊर्जा तथा सिँचाइ परियोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्ने तथा नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा महत्त्वपूर्ण विचार–विमर्श भएको छ।
यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावना तथा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन एवं अनुसन्धानमा दुई देशबिच साझेदारी गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनाहरूलाई तीव्र गति दिनुपर्नेमा जोड दिएका छन्।