तपाईँको दिमागमा के कुरा घुमिरहेको छ त ? के मनमा आएका सबै कुरा व्यक्त गर्नुहुन्छ ?

दिमागमा त केके सोचिन्छ, सोचिन्छ । कहाँ सबै कुरा भनेर साध्य हुन्छ ?

होइन, अब तपाईँले व्यक्त नगरे पनि कम्प्युटरले थाहा पाउने भएको छ । यसका लागि चीनमा ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) विकास गरिएको छ, जसले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार स्थापित गर्दछ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को बेइजिङ नगर कमिटी पार्टी स्कुल भ्रमणका क्रममा यही प्रविधिसम्बन्धी प्रदर्शनीले विशेष रुपमा मेरो ध्यान खिच्यो ।

केही वर्षअघिसम्म विज्ञान-कथाको विषयजस्तो लाग्ने यो प्रविधि आज वास्तविक जीवनमा प्रयोग हुन थालेको देख्दा आश्चर्य त लाग्ने नै भयो ।

अहिलेलाई यो विशेष रूपमा पक्षघात (प्यारालाइसिस), मेरुदण्ड तथा अन्य स्नायु प्रणालीसम्बन्धी समस्याबाट पीडित बिरामीहरूका लागि विकास गरिएको भनिएको छ ।

हाम्रो मस्तिष्कमा कुनै सोच आउँदा न्युरोनहरूले अत्यन्त सूक्ष्म विद्युतीय संकेत उत्पन्न गर्छन् । मस्तिष्कमा जडान गरिएको विशेष चिपले ती संकेतहरूलाई टिप्छ, त्यसपछि एल्गोरिदमले तिनको विश्लेषण गरेर कम्प्युटरले बुझ्ने आदेशमा रूपान्तरण गर्छ । त्यसपछि ती आदेशका आधारमा कम्प्युटर, रोबोटिक हात, ह्विलचेयर वा अन्य स्मार्ट उपकरण सञ्चालन गर्न सकिन्छ । अर्थात्, हातले बटन थिच्नुपर्दैन । दिमागले सोचकै आधारमा काम हुन्छ ।

चीनले यस क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको छ । हामीलाई जानकारी दिइएअनुसार, बेइनाओ-१ नामक अर्ध-आक्रामक (सेमी इन्भेसिभ) बीसीआई सफलतापूर्वक ७ जना बिरामीमा प्रत्यारोपण गरिसकिएको छ । यसै वर्ष (सन् २०२६) भित्र क्लिनिकल परीक्षणलाई विस्तार गर्दै करिब ५० जना बिरामीसम्म पुर्‍याउने योजना छ ।

चीनले नियो नामक अर्को बीसीआई प्रणालीलाई निश्चित प्रकारका पक्षघात भएका बिरामीका लागि व्यावसायिक प्रयोगको अनुमति नै दिइसकेको छ ।

यदि यो प्रविधि अपेक्षाअनुसार विकसित हुँदै गयो भने भविष्यमा पक्षघात भएका व्यक्तिले आफ्नै सोचका आधारमा कम्प्युटर चलाउन, कृत्रिम हात नियन्त्रण गर्न, सञ्चार गर्न वा दैनिक जीवनका धेरै काम स्वतन्त्र रूपमा गर्न सक्ने सम्भावना अझ बलियो हुनेछ ।

यद्यपि, दिमागमा उत्पन्न भावहरुको अभिलेख रहने यस्तो शक्तिशाली प्रविधिसँगै गोपनीयता, डाटा सुरक्षा, साइबर सुरक्षा र नैतिकतासम्बन्धी प्रश्नहरू पनि उत्तिकै महत्त्वपूर्ण छन् । त्यसैले यसको विकास विज्ञान, चिकित्सा र नैतिक मापदण्डबीच कसरी सन्तुलन कायम गरिन्छ भन्ने पनि चासोको विषय छ ।

भिडिओका लागि यहाँ क्लिक गर्नुहोस्।

(बेइजिङमा अध्ययन भ्रमणमा रहेका पत्रकार रामबहादुर रावलको फेसबुकबाट साभार)