चीनमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को १०५औँ स्थापना दिवस मनाइँदै छ ।

यसै अवसरमा राष्ट्रपति एवं सीपीसीका महासचिव सी चिनफिङले बुधबार एक विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।

बुधबार बिहान १० बजे बेइजिङस्थित पिपुल्स हलमा एक समारोह आयोजना गरिँदै छ । उक्त समारोहमा सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङले पार्टीको सर्वोच्च सम्मान ‘जुलाई १ पदक’ आदर्श सीपीसी सदस्यहरूलाई प्रदान गर्नुहुनेछ।

केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहनुभएका सीले सो अवसरमा महत्त्वपूर्ण सम्बोधन गर्ने सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । जसअनुसार, देशभरका उत्कृष्ट पार्टी सदस्य, पार्टी कार्यकर्ता तथा प्राथमिक तहका पार्टी संगठनहरूलाई पनि समारोहमा सम्मान गरिनेछ ।

यसैबीच संगठन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सीपीसीको सदस्यता संख्या १० करोड १२ लाख ८० पुगेको छ । यो संख्या गत वर्षको भन्दा १० लाख १० हजारले बढी हो ।

पछिल्लो वर्ष महासचिव सी चिनफिङको व्यक्तित्व, सीपीसीको नीति र कार्यक्रमले चिनियाँ नागरिकलाई थप आकर्षण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिवेदनअनुसार पार्टीको साक्षरता अनुपात पनि बढ्दै गएको छ । पार्टीका ५९ प्रतिशत अर्थात ५ करोड ९७ लाख ७० हजार सदस्यले जुनियर कलेज वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका छन् । त्यस्तै, पार्टी सदस्यता लिने महिलाको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । हालसम्म तीन करोड १९ लाख दश हजार महिलाले पार्टी सदस्यता लिएको प्रतिवेदनमा उल्लेख छ । पार्टी सदस्यता लिने श्रमिक र मजदुरको हिस्सा ३२.४ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षभन्दा तीन प्रतिशतले बढी हो ।

पार्टीले संगठनको संरचना र व्यवस्थापनमा पनि उल्लेख्य सुधार ल्याएको छ ।

सीपीसीको नेतृत्वमा चीनले विकासमा ठूलो फड्को मारेको छ । गरिबी शून्य प्रतिशतमा झारेको छ भने संसारकै ठूलो अर्थतन्त्रमा स्थापित भएको छ ।