नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को चोट र सम्भावित शल्यक्रियाबारे सार्वजनिक बहस चर्किएको छ।
साम्बा हाल न्युजिल्यान्डको एक क्लबबाट व्यावसायिक फुटबल खेलिरहेकी छन् । खेलकै क्रममा गम्भीर चोट लागेपछि शल्यक्रिया आवश्यक पर्ने अवस्था आएको बताइएको छ । सम्बन्धित क्लबले न्यूजिल्यान्डमै उपचार गराउँदा लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता जनाएको खबर सार्वजनिक भएको छ ।
यसबीच कतारमा उपचार गराउने विषय पनि चर्चामा आयो । तर नेपालका हाडजोर्नी तथा खेलकुद चिकित्सा क्षेत्रका चिकित्सकहरूले यस्तो शल्यक्रिया नेपालमै उच्चस्तरमा सम्भव रहेको दाबी गरेका छन् । साथै नेपालमा उपचार नै हुन नसक्ने भन्ने खालको सन्देश प्रवाह गरी साम्बाले गलत भाष्य बनाउन खोजेको आरोप उनीहरुले लगाएका छन् । उनीहरूका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा खेलकुदजन्य चोटको उपचार, आर्जोस्कोपिक सर्जरी र पुनर्स्थापना (रिह्याब) सेवा उल्लेखनीय रूपमा विकास भएको छ ।
कम्तीमा ३०–४० जना अनुभवी हाडजोर्नी विशेषज्ञहरूले यस्ता शल्यक्रिया नियमित रूपमा गर्दै आएको डाक्टर मंगल रावलको भनाइ छ ।
डा रावलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै विदेशमै मात्र गुणस्तरीय उपचार सम्भव हुन्छ भन्ने धारणा गलत भएको उल्लेख गरेका छन् । उनका अनुसार न्युजिल्यान्ड वा अन्य विकसित मुलुकसरह प्रविधि र दक्ष जनशक्ति नेपालमै उपलब्ध छ र करिब २–५ लाख रुपैयाँमै शल्यक्रिया सम्भव हुन सक्छ, जुन विदेशको तुलनामा निकै सस्तो पनि हो ।
उक्त प्रतिक्रियामा यो पनि उल्लेख गरिएको छ कि प्रतिष्ठित संस्थाहरू जस्तै मायो क्लिनिक, जोनस् हप्किन्स हस्पिटल र हार्बर्ड युनिभर्सिटीमा समेत कहिलेकाहीँ जटिलता देखिन सक्छन्, त्यसैले उपचारको गुणस्तर केवल देशको नामसँग मात्र जोडेर हेर्नु उपयुक्त नहुने तर्क गरिएको छ ।
चिकित्सकहरूको भनाइ छ- यदि नेता, खेलाडी, कलाकार तथा अन्य चर्चित व्यक्तिहरूले नेपालमै उपलब्ध सेवा-सुविधाको प्रयोग गरेमा आमनागरिकमा सकारात्मक सन्देश जानेछ र स्वास्थ्य प्रणालीप्रति विश्वास पनि बढ्नेछ। यद्यपि, अन्ततः उपचार कहाँ गराउने भन्ने निर्णय खेलाडी र उनको परिवारको व्यक्तिगत अधिकारको विषय भएको उनीहरू स्वीकार गर्छन् ।
साम्बाको स्वास्थ्य अवस्थाबारे आधिकारिक विवरण आउन बाँकी रहे पनि उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खेलप्रेमी र शुभेच्छुकहरूले समर्थन जनाइरहेका छन् ।