अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यानको धम्की दिने प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपाल ल्याएको छ ।

फिलिपिन्समा  पक्राउ परेका पाठकलाई प्रहरीले इन्टरपोलसँगको समन्वयमा बुधबार बिहान काठमाडौं ल्याएको हो ।

पाठकलाई ल्याउन प्रहरी टोली फिलिपिन्स नै पुगेको थियो ।

अहिले पाठक काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार विद्युतीय कारोबार ऐन, आपराधिक लाभजस्ता विषयमा उनीमाथि अनुसन्धान हुनेछ ।

पाठकले अख्तियार प्रमुख राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएका थिए ।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस सहरबाट त्यहाँको ब्युरो अफ इमिग्रेसन (बीआई) ले नियन्त्रणमा लिएको थियो ।

यसअघि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले डिफ्युजन नोटिस जारी गरेका थिए ।

पाठक यसअघि चार पटकसम्म विभिन्न आपराधिक कसुरमा मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।