नेपाल प्रहरीले काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको कोठामा चोरी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको शाहको कोठा चोरी गर्ने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसङ्खुपाखर घर भई काठमाडौँको गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी घर मई हाल धादिङको खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएका कैदीले चोरी गर्दै हिँडेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका राजवाहकविरुद्ध चोरी मुद्दा, खड्काविरुद्ध बैंकिङ कसुर र श्रेष्ठविरुद्ध जबर्जस्ती करणी मुद्दा रहेको अनुसन्धानमा खुलेको उनले बताए ।
पक्राउ परेका तीनै जनासँग प्रहरीले चोरीमा प्रयोग हुने वस्तु र चोरीका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
यस घटनाका योजनाकार नक्खु कारागारका फरार कैदी रहेको बताइएको छ ।
राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो । उनीविरुद्ध यसअघि २४ जेठ २०७२ मा प्रहरी वृत्त कालिमाटी केही साधारण अपराधको कसुरमा र ८ असार २०७२ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ ।
उनी चोरी गर्नेमध्येका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ । साधारण लेखपढ गर्न जान्ने उनी पेन्टरको काम गर्थे । उनले बालेनको डेराघरमा चोरी गरेको स्वीकार गरेको एसपी भट्टराईले बताए । उनी चोरीको कसुरमा ३ वर्ष ६ महिना कैद भुक्तान गरिरेका थिए । सोही क्रममा उनी २४ भदौमा जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।
नख्खु कारागारबाट भागेपछि उनी पाँच वटा चोरीमा संलग्न रहेको देखिएको प्रहरीले बताएको छ । उनी निर्माणाधीन घरबाट धारा, टुटी तथा अन्य घरहरूमा चाँदीका गिलास, कचौरा, दियो र चाँदीका प्लेटहरू चोरी गरेको प्रहरीले बताएको छ ।
काठमाडौं महानरपालिका–२६ मा रहेको क्लासिक एण्ड लज इन गेष्ट हाउसको कोठा नम्बर ४०२ मा बस्दै आएका उनको कोठाबाट प्रहरीले वर्ल्ड लिंक लेखिएको राउटर र सीसीक्यामेरा २ थान बरामद गरेको छ ।
त्यस्तै उनको साथबाट प्रहरीले एक्रोन गोल्ड लेखिएको निलो बिँड भएको पिलास १ थान, सलाई रेन्ची, रेती, स्क्रु र कालो रंगको ज्याकेट बराबद भएको छ ।
त्यस्तै अर्का व्यक्ति खिमबहादुरलाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो । उनी बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति रहेको पाइएको छ । ११ मंसिर २०७९ मा उनीविरुद्ध प्रहरी वृत्त बौद्धबाट मुद्दा चलेको थियो ।
कक्षा ८ सम्म अध्ययन गरेका उनी बालुवा डिपो सञ्चालन गर्दै आएका थिए । मनिष राजवाहकले दिएको चोरीका सामानहरू उनले बेच्ने गरेको प्रहरीले बताएको छ । राजवाहक र खड्कबीच घरको काम गर्ने क्रममा करिब ८ वर्षदेखि चिनजान रहेको पाइएको छ । राजबाहक समेत खड्काको डिपोमा काम गर्थे ।
खड्काको भक्तपुर ठिमी नगरपालिका दुवाकोटस्थित घरबाट प्रहरीले चाँदीका थाली, कचौरा, रिङ, नटबो:ट लगायतका सामानहरू बरामद गरेको ।
सुनजस्तो देखिने लक्ष्मीको मूर्ति भएको झुम्का, चन्द्रमा, सिक्री बालाजस्ता सामानहरू बरामद भएका छन् ।
श्रेष्ठलाई भने प्रहरीले २४ माघमै बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २९ कात्तिक २०६४ प्रहरी वृत्त बौद्धबाट जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको देखिएको एसपी भट्टराईले बताए ।
कक्षा १० सम्म अध्ययन गरेका उनी खेती किसानी गर्ने व्यक्ति हुन् । रामेछाप कारागारमा रहँदा उनी र राजबाहकबीच भेटघाट र चिनजान भएको देखिएको प्रहरीले बताएको छ । उनले २ ल्यापपटप डिकमा राखी राजबाहकलाई ८ हजार दिएको पाइएको छ ।
धादिङ धुनीबेशी नगरपालिका–७ लप्सेस्थित उनको कोठाबाट प्रहरीले झोला, डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर, डीभीआर बरामद गरेको छ ।