विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको आदेशमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि तत्काल हिरासतमा राख्न आवश्यक नदेखेपछि उनलाई आइतबार साँझ छाडिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहने र प्रहरीले बोलाएको समयमा उपस्थित हुनुपर्ने सर्तमा उनलाई छाडिएको ब्युरोले जनाएको छ।
निर्वाचन आयोगको पत्राचारका आधारमा प्रसाईँलाई प्रहरीले शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो । प्रसाईँ त्यतिखेर काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको थियो ।
देशका विभिन्न भागमा प्रदर्शन गर्दै हिँडेका प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएको र शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीको दाबी छ ।
सरकार र निर्वाचन आयोगले निर्वाचनविरोधी गतिविधिमा कडाइ गरिरहेका छन् ।
यसअघि पनि पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका प्रसाईंविरुद्ध करिब एक दर्जन आपराधिक मुद्दा विचाराधीन छन् ।