काठमाडौँ। नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा ‘एनटी फाइबर’ को माग दिनप्रतिदिन बढेपछि कम्पनीले ग्राहकका लागि अनलाइनबाटै नयाँ जडान अनुरोध र गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। हालै सार्वजनिक गरिएको सस्तो तथा गुणस्तरीय प्याकेजका कारण ग्राहकहरूको आकर्षण बढेपछि टेलिकमले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाएको हो।
नयाँ व्यवस्था अनुसार ग्राहकहरूले अब टेलिकमको कार्यालयसम्म नपुगी घरबाटै अनलाइन माध्यम (complain.ntc.net.np) बाट आवेदन दिन सक्नेछन्। यसका लागि ग्राहकले आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी ओटीपी मार्फत लगइन गरेर व्यक्तिगत र लोकेसन विवरण पेस गर्नुपर्ने हुन्छ। सोही पोर्टलमार्फत इन्टरनेट जडानको अनुरोधका साथै सेवासम्बन्धी कुनै गुनासो भएमा समेत दर्ता गर्न सकिने सुविधा दिइएको छ। अनलाइनका अलावा ग्राहकले १९८ नम्बरमा कल गरेर पनि नयाँ जडान तथा सोधपुछ सम्बन्धी जानकारी लिन सक्नेछन्।
टेलिकमले वार्षिक मात्र रु ४,९९९ मा ३० एमबीपीएस गतिको सस्तो फाइबर इन्टरनेट प्याकेज ल्याएपछि यस सेवामा ग्राहकको आकर्षण निकै बढेको हो। एनटी फाइबर प्रविधिमार्फत एउटै फाइबर केबलबाट उच्च गतिको इन्टरनेट, एचडी गुणस्तरको टेलिफोन र एनटीटीभी सेवा समेत उपलब्ध हुन्छ। यस अफरमा नवीनतम ‘वाईफाई ६’ राउटर प्रविधिको सुविधा समावेश गरिएकाले यसले इन्टरनेटको कभरेज र गतिलाई अझ प्रभावकारी र भरपर्दो बनाएको छ।