विद्यार्थीहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटनालाई नियन्त्रण गर्ने उद्देश्यका साथ भारतको एक विश्वविद्यालयले आफ्ना छात्रावासहरूमा ३५४ वटा विशेष ‘एन्टी-सुसाइड’ (आत्महत्या रोक्ने) सिलिङ पङ्खा जडान गरेको छ। गुजरातको सुरतस्थित वीर नर्मद दक्षिण गुजरात विश्वविद्यालयले छात्रावासको सुरक्षा सुदृढ गर्न यो कदम चालेको हो।
विश्वविद्यालयका उपकुलपति डा. किशोरसिंह चावडाका अनुसार यी पङ्खाहरूमा स्प्रिङ-लोड सुरक्षा संयन्त्र जडान गरिएको छ। पङ्खामा क्षमताभन्दा बढी भार वा तौल पर्ने बित्तिकै यो स्वतः तल खस्छ र यसको विद्युत् आपूर्ति पनि काटिन्छ। प्रति पङ्खा करिब १,५०० भारतीय रुपैयाँका दरले ३५४ वटा पङ्खा जडान गर्दा कुल ५ लाख ३१ हजार भारतीय रुपैयाँ खर्च भएको बताइएको छ।
विश्वविद्यालयको यो निर्णयपछि शैक्षिक क्षेत्र र सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ। कतिपयले यसलाई सङ्कटको समयमा जीवन बचाउन सक्ने उपयोगी पूर्वाधारका रूपमा हेरेका छन् भने आलोचकहरूले केवल भौतिक प्रविधिले मात्र आत्महत्या रोक्न नसकिने तर्क गरेका छन्।
मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार विश्वविद्यालयहरूले पङ्खा फेर्नुभन्दा विद्यार्थीहरूमाथि हुने अत्यधिक शैक्षिक दबाब, करियरको चिन्ता र एकाकीपन जस्ता मूल कारणहरू सम्बोधन गर्नुपर्छ। साथै, सहज र बिना सङ्कोच परामर्श लिन सकिने वातावरण तथा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउनुपर्नेमा जोड दिइएको छ।