काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले आफूमाथि उठेका सम्पूर्ण आरोप र प्रश्नहरूमाथि निर्मम छानबिन गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले आफूबाट कुनै गलत काम वा अपराध भएको प्रमाणित भए प्रतिनिधि सभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट बर्खास्त हुनका साथै जस्तोसुकै सजाय भोग्न तयार रहेको घोषणा गरेका छन्।
आफ्नो व्यक्तिगत विषयलाई लिएर पार्टी, समर्थक र मतदाताले शिर झुकाउनु नपर्ने उल्लेख गर्दै उनले आफूमाथि हुने जुनसुकै सरकारी तथा कानुनी अनुसन्धानमा पूर्ण सहयोग गर्ने स्पष्ट पारेका छन्। उनले भने, “म र मैले कुनै कु-कर्म गरेको खण्डमा पार्टी र सरकार सती जानुपर्दैन। तर ममाथि लगाइएका पाप र अपराध के हुन्? ती प्रमाणित भए म सजाय भोग्न तयार छु।”
साथै, सुनारले यस प्रकरणमा जोडिएकी राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील एक निर्दोष महिलामाथि भइरहेको मिडिया ट्रायल, अतिरञ्जित प्रचार र भ्रामक फोटो/अडियो/भिडियो जोडेर गरिएको दुर्व्यवहारप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। सम्बन्धित महिला स्वयंले आफूमाथि अन्याय नभएको र कुनै मुद्दा नहाल्ने भन्दै प्रहरी र सीआईबीलाई जवाफ दिँदादिँदै पनि राज्यका निकाय र सञ्चारमाध्यमले प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ। आफूमाथि जस्तोसुकै छानबिन र कारबाही भए पनि स्वीकार्य हुने तर निर्दोष महिलामाथिको सामाजिक र मानसिक आक्रमण कदापि सह्य नहुने सांसद सुनारले स्पष्ट पारेका छन्।