काठमाडौँ। संघीय संसदको संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। सभापति बोधनारायण श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले सुनारको नैतिक आचरण, योग्यता र निष्ठामाथि गम्भीर प्रश्न उठेको ठहर गर्दै उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

​प्रस्तावित राजदूत सुनारविरुद्ध महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई सास्ती दिएको विषयमा उजुरी परेका थिए। यसका अतिरिक्त, जर्मनीमा भिसा अवधिभन्दा बढी बसेर डिपोर्ट (निष्कासित) भएको, घरेलु हिंसाका सम्बन्धमा ललितपुर प्रहरीमा मिलापत्र भएको र विभिन्न आर्थिक लेनदेनसम्बन्धी विवादहरूमा उनको संलग्नता रहेको आरोप समितिमा दर्ता भएको थियो।

​सुनुवाइका क्रममा सुनारले आफूमाथि लागेका सम्पूर्ण आरोपहरूको खण्डन गर्दै नाम फिर्ता नलिने अडान लिएका थिए। तर, समितिले उनको स्पष्टीकरण र जवाफ चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै साउदी अरेबियाका लागि उनको राजदूत बन्ने प्रक्रिया पूर्ण रूपमा रोकिदिएको छ।