आफ्नो कुनै साइनो–सम्बन्ध नभएका विदेशका ठूला बिल्डिङअगाडि उभिएको फोटो यता (फेसबुकमा) टाँस्नु त्यति गतिलो काम हो भन्ने लाग्दैन । इमानदारीसाथ भन्नुपर्दा यो फोटोचाहिँ लाज पचाएरै टाँसिएको हो ।

किनभने,

चीनको सबैभन्दा ठूलो मिडिया हाउस सीजीटीएन (चाइना ग्लोबल टेलिभिजन नेटवर्क) को मुख्यालयमा दिनभर काम गर्दा बारम्बार यतै आँखा ठोकिइरहे ।

र, यो रहेछ बेइजिङको सबैभन्दा अग्लो भवन सीआईटीआईसी टावर । ५२८ मिटरको उचाइ, ११५ तला (जमिनमुनि ७ र माथि १०८ तला)।

चिनियाँ इन्जिनियरहरूले आफ्नो परापूर्वकालदेखि प्रचलनमा रहेको ‘जुन’ (Zun) नामक पूजामा प्रयोग हुने वर्तनबाट प्रेरित भई यसको डिजाइन गरेका रहेछन् ।

तर त्यो वर्तन तल फराकिलो र माथि साँघुरो हुन्थ्यो । यो टावर उल्टो छ, तल साँघुरो र माथि फराकिलो । मानौँ, चीनको बढ्दो आत्मविश्वास र उचाइको प्रतीक हो यो ।

यति अग्लो संरचनाको मुनि उभिँदा आफू कति सानो छु भन्ने ख्याल आउँछ ।

कुनै बेला बेइजिङको सबैभन्दा अग्लो संरचना नेपाली वास्तुशिल्पी अरनिको आएर बनाइदिएका थिए । सन् १२६० मा चीन आएका उनले बनाइदिएको श्वेतचैत्य करिब ६७१ वर्षसम्म बेइजिङको सर्वोच्च संरचना बनेर उभिइरह्यो ।

यो करिब ५५ मिटर उचाइको छ ।

अहिले दिन दुगुना रात चौगुना फड्को मारिरहेको चीनमा आकाश छुने संरचना बनाउने होड चल्नु कुनै नौलो कुरा रहेन ।

जे होस्, इतिहास, संस्कृति र आधुनिकताको मिश्रण गर्ने यस वास्तुशिल्पअगाडि उभिन पाउँदा पनि रोमाञ्चित नै भइने रहेछ ।

पछिल्लो उपलब्ध तथ्यांकअनुसार १५० मिटरभन्दा अग्ला भवनहरूको संख्याका आधारमा यो सहर विश्वको २७औँ हो । एसियाको २१औँ र चीनको १३औँ स्थानमा रहेको छ ।

बेइजिङको केन्द्रीय व्यापारिक जिल्ला (सीबीडी) मा अधिकांश आधुनिक गगनचुम्बी भवनहरू केन्द्रित छन्, जहाँ पुरानो र नयाँ वास्तुकलाको मनोरम दृश्य देख्न पाइन्छ ।

चाइना वर्ल्ड टावर (३३० मिटर) सन् २०१० सम्म बेइजिङकै सबैभन्दा अग्लो भवन थियो । यसका अतिरिक्त, बेइजिङ टिभी सेन्टर (२३९ मिटर), सामसुङ चाइना हेडक्वाटर (२६० मिटर) र बेइजिङ यिन्टाई सेन्टर (२५० मिटर) जस्ता धेरै अग्ला संरचनाहरूले बेइजिङको वैभव र चिनियाँ आधुनिकता बोकेर आकाशतिर सोझिरहेका छन् ।

(चीन सरकारको निमन्त्रणामा बेइजिङको अध्ययन भ्रमणमा रहेका पत्रकार रामबहादुर रावलको फेसबुकबाट साभार)

सम्बन्धित सामग्री: