चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रका लागि भएका संघर्ष र सहिदहरूको बलिदानलाई नबिर्सन आग्रह गरेका छन्।

रास्वपाको महाधिवेशनस्थलतर्फ संकेत गर्दै थापाले भने, “तपाई जुन ठाउँमा उभिनुभएको छ नि, त्यही मुनि करिब ५० जना मानिसहरूको लास गाडिएको छ। २०१८ सालमा पञ्चायतको सरकारले काटेर गाडेको छ। तपाईले भोलि कार्यक्रम गर्ने ठाउँभित्र पनि थुप्रै साथीहरू गाडिएका छन्।”

उनले ती संघर्षशील व्यक्तिहरूले आफ्नो स्वार्थका लागि नभई लोकतन्त्रका लागि बलिदान दिएको उल्लेख गर्दै भने, “ती सबैले कांग्रेसको चारतारे झण्डा उठाएका थिए, जय नेपाल भनेका थिए। तर आफ्नो लागि होइन, आफ्नो परिवारका लागि होइन। टाउको काटियो, रेटियो तर तिनले बोलेको त्यो कुरा तपाईको लागि थियो, मेरो लागि थियो, यो डेमोक्रेसीको लागि थियो। आज नीलो झण्डा फहराउन तपाईले पाउनुभएको छ।”

चितवनभर नीलो झण्डा र उत्साह देखिएको उल्लेख गर्दै थापाले भने, “आज म चितवन आउँदै गर्दा मैले जतातातै नीलो भएको देखेँ। शहरभरि नीलो छ। गजब छ। यो चितवनले डिजर्भ गर्छ, चितवनको हक हो यो। राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हक हो यो।”

रास्वपाका प्रतिनिधिहरूले नेपालको भविष्यबारे छलफल गर्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई शुभकामना दिए। साथै, आफू र आफ्नो पार्टीले पनि नयाँ राजनीतिक शक्तिबाट सिक्न चाहेको बताए।

यद्यपि, परिवर्तनको नाममा विगतलाई पूर्ण रूपमा अस्वीकार नगर्न आग्रह गर्दै थापाले भने, “जब यो नीलो झण्डामुनि बसेर चितवनमा तपाई विगत खराब भन्नुहुन्छ, कृपया एकै पटक ३५ वर्षमा केही पनि भएन भनेर नभन्निदिनुहोला। कृपया पञ्चायतका ३० वर्षका संघर्षका कथाहरूलाई अन्डरमाइन पनि नगर्दिनुहोला।”

सहिदहरूको योगदान स्मरण गर्न आग्रह गर्दै उनले भावुक रूपमा भने, “एक पटक झण्डा फहराउँदै गर्दा भुईँमा हेर्नुहोला, चितवनको भुईँमा पनि हेर्नुहोला, त्यहाँ अलिअलि रातो छ। त्यो रातो थुप्रै सहिदका रगतहरूले लगाएको रातो हो। त्यसलाई तपाईले बिर्सन पाउनुहुन्न, हामी कसैले बिर्सन पाउँदैनौँ।”

थापाले लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलन र बलिदानको सम्मान गर्दै भविष्य निर्माणका क्रममा इतिहासका संघर्ष र सहिदहरूको योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिएका थिए।