गभर्नर बिश्वनाथ पौडेलले उद्यमशीलता जबरजस्ती सिर्जना गर्न नसकिने बताएका छन्। उनले आफूलाई १० करोड रुपैयाँ दिएर व्यवसाय गर्न भनिए पनि कपडा वा जुत्ता बेच्न नसक्ने उल्लेख गर्दै हरेक व्यक्तिको क्षमता र रुचि फरक हुने बताए।

उनका अनुसार राज्यको मुख्य उद्देश्य प्रत्यक्ष रोजगारी दिनु मात्र नभई रोजगारी सिर्जना गर्ने र कर तिर्न सक्ने उद्यमी वातावरण निर्माण गर्नु हो। उनले उद्योगी–व्यवसायी उत्पादन गर्न नसकिने भन्दै त्यसका लागि उपयुक्त इकोसिस्टम, प्रोत्साहन र संरक्षण आवश्यक रहेको बताए।

गभर्नर पौडेलले उद्यमशीलतामा कहिलेकाहीँ गल्ती भए पनि सुधारको अवसर दिनुपर्ने उल्लेख गर्दै अत्याधिक दण्ड, मुद्दा, घाँटी न्याक्ने वा जेलको डरले व्यवसायिक वातावरण कमजोर बन्न सक्ने धारणा व्यक्त गरे।