सिन्धुपाल्चोक, कात्तिक २७। सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–४, कातिकेमा उज्यालो नेपाल पार्टीको पहिलो गाउँपालिकास्तरीय आमसभा एक हजारभन्दा बढी स्थानीयवासीको उत्साहजनक सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको छ।

आमसभाका अवसरमा जुगल गाउँपालिकाका पाँचवटा वडाबाट विभिन्न राजनीतिक दल परित्याग गरी दुई सयभन्दा बढी स्थानीयवासी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। बाँकी वडा नम्बर ६ र ७ मा भोलि थप पार्टी प्रवेश कार्यक्रम आयोजना गरिने भएको छ।

जुगल गाउँपालिका पुग्ने क्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङलाई गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो। त्यसपछि कातिकेस्थित आमसभास्थलमा पुग्दा स्थानीयवासीहरूले अध्यक्ष घिसिङलाई भव्य तथा आत्मीय स्वागत गरेका थिए।

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको सैद्धान्तिक तथा वैचारिक दृष्टिकोण, सुशासन, सामाजिक न्याय, समावेशी विकास र ‘हरित क्रान्तिमार्फत आर्थिक रूपान्तरण’ गर्ने पार्टीको दीर्घकालीन अवधारणाबारे प्रकाश पार्नुभयो।

उहाँले नेपालको जलस्रोत, कृषि, पर्यटन, वन तथा स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै उत्पादन वृद्धि, औद्योगिकीकरण, उद्यमशीलता र रोजगारी सिर्जनामार्फत देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष घिसिङले जुगल गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि सडक तथा अन्य पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, जलविद्युत्, कृषि, पर्यटन, रोजगारी र स्थानीय आर्थिक अवसरहरूको विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। स्थानीय आवश्यकता, जनसहभागिता र पारदर्शी कार्यप्रणालीलाई केन्द्रमा राखेर योजनाबद्ध विकास अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूका साथै स्थानीय अगुवा र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय वक्ताहरूले गाउँपालिकामा विद्यमान विकास निर्माणका समस्या, पूर्वाधारको अभाव, सार्वजनिक सेवा तथा अन्य जनसरोकारका विषयहरू उठाउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।

पहिलो आमसभामै देखिएको व्यापक जनसहभागिता, स्थानीयवासीको उत्साह र विभिन्न राजनीतिक दलबाट भएको उल्लेखनीय पार्टी प्रवेशले जुगल गाउँपालिकामा उज्यालो नेपाल पार्टीको संगठनात्मक आधार र जनसमर्थन थप सुदृढ भएको पार्टीले जनाएको छ।

उज्यालो नेपाल पार्टीले जुगल गाउँपालिकामा निर्माण भएको उत्साहजनक जनाधार र संगठनात्मक विस्तारका आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको नेतृत्व जित्ने विश्वास व्यक्त गरेको छ।

पार्टीले आगामी दिनमा गाउँपालिकाका सबै वडामा संगठन विस्तार गर्दै स्थानीय जनताका समस्या समाधान, सुशासन, सामाजिक न्याय, समावेशी विकास र हरित आर्थिक समृद्धिको अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।