​जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले व्यवहारमा परिवर्तन महसुस गर्न नसके आगामी निर्वाचनमा आफू भोट माग्नसमेत आउन नसक्ने बताएका छन्। जनकपुरधाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले दिएको अवसरलाई परिणाममा बदल्न नसके पुनः मत माग्ने नैतिक आधार नरहने स्पष्ट पारेका हुन्।

​कार्यक्रममा बोल्दै लामिछानेले यसपटक जनताले आफ्नो पार्टीलाई अवसर दिएको उल्लेख गर्दै प्राप्त जनमतबाट मधेसले परिवर्तनको आशा र अनुभूति गर्न नसके अरूको विषयमा आफूलाई थाहा नभए पनि आफू व्यक्तिगत रूपमा भोट माग्न आउन नसक्ने बताए। उनले भने, “यस पटक हामीलाई अवसर दिएको छ, हामीले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा गर्न सकेन। परिवर्तन महसुस गर्न सकेन भने अरूको कुरा म जान्दिनँ, म चाहिँ भोट माग्न आउन सक्दिनँ।”

​राजनीतिमा झुट बोल्नुपर्ने भन्ने पुरानो मान्यता आफूले सुनेको भए पनि जनतालाई झुक्याएर भोट माग्ने चरित्र स्थापित हुने राजनीति आफूलाई किमार्थ स्वीकार्य नभएको उनले उल्लेख गरे। ‘जति सक्छौँ त्यति बोल्ने, जति बोल्ने त्यति गर्ने’ नीतिमा आफू अडिग रहेको बताउँदै सभापति लामिछानेले जनताको विवेकलाई चुनौती नदिने र नागरिकलाई बारम्बार झुक्याइरहन नपर्ने स्वच्छ राजनीति आजको आवश्यकता रहेको धारणा राखे।