काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत आयोजनाहरुको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको हो ।
भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका श्रृंखलाबद्ध विपदमा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिनुभयो । उहाँले विद्युत व्यापारलाई बढाउन, नेपालमा सञ्चालित परियोजनाहरु सम्पन्न गर्न र निजी क्षेत्रलाई लगानी अभिवृद्धि गर्न अनुरोध गर्नुभयो ।
विदेश सचिव मिश्रीले भारत ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
भेटमा ऊर्जा सचिव डा. जगदिश्वर कर्माचार्यसहित ऊर्जा मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
यसैगरी भारतका तर्फबाट भारतीय राजदूत सुधाकर दलेला, भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावरलगायत सहभागी हुनुहुन्थ्यो ।