काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री गुञ्जन शाह नियुक्त भएपछि खेलकुद वृत्त र सामाजिक सञ्जालमा चर्को विवाद तथा विरोध सुरु भएको छ। खेलक्षेत्रभन्दा राजनीतिक र मन्त्रीको स्वकीय सचिवजस्तो प्रशासनिक पृष्ठभूमिबाट सीधै क्यानको बोर्डमा नियुक्ति पाएपछि यसको चौतर्फी आलोचना भइरहेको छ।
दाङकी स्थायी बासिन्दा शाह रास्वपाका महामन्त्री विपिन कुमार आचार्यको चुनाव प्रचारप्रसारमा व्यापक रूपमा सक्रिय हुनुका साथै पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको स्वकीय सचिवको जिम्मेवारीसमेत सम्हालिसकेकी व्यक्ति हुन्।
एक खेल च्यानलमार्फत अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्, ‘क्रिकेट पृष्ठभूमिको कुरा गर्दा मैले राष्ट्रिय जिल्ला स्तरीय क्रिकेट त खेलेको छैन, एकेडेमी स्तरको क्रिकेट खेलेको छु त्यसैले ग्राउन्ड लेभल क्रिकेटरका रूपमा मैले क्रिकेटलाई ग्राउन्ड लेभलबाट बुझेको छु’। उनको यो नियुक्तिलाई लिएर खेल क्षेत्रमा योग्यता र क्षमता भन्दा पनि ‘भागबण्डा र राजनीतिक पहुँच’ का आधारमा खेलकुद निकायमा नियुक्ति हुने गरेको भन्दै असन्तोष व्यक्त भइरहेको छ।