माननीय सभाध्यक्षज्यू,
महामहिमहरू,
विशिष्ट प्रतिनिधिगण,
महिला तथा सज्जनवृन्द,
शुभ प्रभात! नमस्ते! नि हाओ !
नेपालको संघीय संसदको प्रतिनिधिमण्डलका तर्फबाट यस गरिमामय ट्रान्स–हिमालयन फोरमलाई सम्बोधन गर्ने अवसर प्राप्त हुनु मेरा लागि गौरवको विषय हो। सर्वप्रथम, यस महत्वपूर्ण फोरमको सफल आयोजना तथा हार्दिक आतिथ्यका लागि सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकार तथा आयोजक समितिप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
ट्रान्स–हिमालयन क्षेत्र केवल भौगोलिक अवधारणा मात्र होइन; यो हजारौँ वर्षदेखि सभ्यता, संस्कृति, ज्ञान, व्यापार र जनसम्बन्धलाई जोड्दै आएको साझा ऐतिहासिक सम्पदा हो। हिमालयले हाम्रा राष्ट्रहरूलाई विभाजन गरेको छैन, बरु आपसी विश्वास, सहकार्य र सहअस्तित्वको सेतुका रूपमा जोड्दै आएको छ। त्यसैले यस साझा प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र दिगो उपयोग गर्दै भावी पुस्ताका लागि सुरक्षित राख्नु हामी सबैको साझा दायित्व हो।
ट्रान्स–हिमालयन क्षेत्रका राष्ट्रहरूको हैसियतले हामी पछिल्ला दशकहरूमा जनवादी गणतन्त्र चीनले हासिल गरेको उल्लेखनीय सामाजिक–आर्थिक रूपान्तरणलाई सम्मानपूर्वक अवलोकन गरेका छौँ। चरम गरिबी उन्मूलन, आधुनिकीकरण, पूर्वाधार विकास, विज्ञान तथा प्रविधिको विस्तार र जनजीवनको गुणस्तर सुधारका क्षेत्रमा चीनले हासिल गरेको प्रगति अन्तर्राष्ट्रिय समुदायका लागि प्रेरणादायी बनेको छ। यस महत्वपूर्ण उपलब्धिका लागि म महामहिम राष्ट्रपति सी चिनफिङ, चीन सरकार तथा मित्रवत् चिनियाँ जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
हामी विश्वास गर्दछौँ कि ट्रान्स–हिमालयन फोरमले क्षेत्रीय सहकार्यलाई थप संस्थागत बनाउँदै साझा समृद्धि, दिगो विकास, जनस्तरीय सम्बन्ध र पारस्परिक विश्वास अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्नेछ। यस दिशामा चीनको रचनात्मक योगदान र सक्रिय सहभागिताले सम्पूर्ण क्षेत्रको शान्ति, स्थायित्व र समृद्धिलाई थप सुदृढ बनाउने विश्वास लिएको छु।
माननीय सभाध्यक्षज्यू,
आज हाम्रो क्षेत्रले सामना गरिरहेका चुनौतीहरू राष्ट्रिय सीमाभित्र सीमित छैनन्। जलवायु परिवर्तनले हिमालय क्षेत्रलाई विश्वकै सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक बनाएको छ। हिमनदीहरूको तीव्र पग्लन, हिमताल विस्फोट, बाढी, पहिरो, जैविक विविधताको ह्रास तथा जलस्रोतमा देखिएका चुनौतीहरूले सम्पूर्ण क्षेत्रलाई प्रभावित गरिरहेका छन्।
हिमालय पर्वत शृङ्खलाको पारिस्थितिकीय प्रणाली, जैविक विविधता, जलस्रोत तथा परम्परागत ज्ञान प्रणालीको संरक्षणका लागि संयुक्त अनुसन्धान, शैक्षिक तथा वैज्ञानिक संस्थाहरूबीच सहकार्यलाई प्राथमिकता दिन आवश्यक छ।
हिमाली जडीबुटी, परम्परागत आम्ची चिकित्सा प्रणाली, सांस्कृतिक सम्पदाको संरक्षण, पर्वतीय पर्यटन, पदमार्ग विकास, साहसिक खेलकुद तथा स्थानीय समुदायको जीविकोपार्जनसँग सम्बन्धित क्षेत्रमा दिगो विकासका कार्यक्रमहरू प्रवर्द्धन गर्न यो फोरमले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
माननीय सभाध्यक्षज्यू,
क्षेत्रीय समृद्धिको आधार सुदृढ कनेक्टिभिटी हो। सडक, रेलमार्ग, हवाई सम्पर्क, ऊर्जा सञ्जाल, डिजिटल पूर्वाधार, व्यापार तथा पारवहन सुविधाको विस्तारले आर्थिक विकासलाई नयाँ गति प्रदान गर्न सक्छ।
नेपाल दक्षिण एशिया, पूर्वी एशिया, दक्षिणपूर्वी एशिया तथा मध्य एशियाबीच प्राकृतिक सेतुका रूपमा रहेको मुलुक हो। त्यसैले ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीको विकास नेपालका लागि विशेष महत्वको विषय हो। पारस्परिक सम्मान, समान लाभ तथा राष्ट्रिय प्राथमिकताको आधारमा अघि बढाइने क्षेत्रीय पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरूले सम्पूर्ण क्षेत्रको साझा समृद्धिमा योगदान पुर्याउनेछन्।
बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) मा सहभागी राष्ट्रका रूपमा नेपाल पूर्वाधार विकास, व्यापार, लगानी, ऊर्जा, पर्यटन तथा जनस्तरीय आदानप्रदानका क्षेत्रमा व्यावहारिक सहकार्य विस्तार गर्न प्रतिबद्ध छ। ट्रान्स–हिमालयन रेलमार्ग, रणनीतिक राजमार्ग, विद्युत् प्रसारण सञ्जाल तथा आधुनिक पारवहन पूर्वाधारहरूले क्षेत्रीय आर्थिक एकीकरणलाई नयाँ उचाइमा पुर्याउने विश्वास हामीले लिएका छौँ।
महामहिमहरू,
ट्रान्स–हिमालयन फोरमको उद्देश्य केवल सरकारहरूबीचको सहकार्यमा सीमित नभई वैज्ञानिक अनुसन्धान, तथ्यमा आधारित नीति निर्माण, प्रविधि आदानप्रदान र क्षेत्रीय सहकार्यमार्फत साझा चुनौतीहरूको दिगो समाधान खोज्नु हो। यस प्रक्रियामा संसदीय कूटनीतिले आवश्यक कानुनी आधार निर्माण, अन्तरदेशीय सहकार्यलाई संस्थागत गर्ने, सरकारलाई नीतिगत मार्गदर्शन दिने तथा प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न संसदीय निगरानी र नीति संवादलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। संसदीय संवाद, वैज्ञानिक सहकार्य, क्षेत्रीय कनेक्टिभिटी र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउँदै हामी शान्त, समृद्ध, दिगो र समावेशी ट्रान्स–हिमालयन समुदाय निर्माण गर्न सफल हुनेछौँ भन्ने विश्वास व्यक्त गर्दछु।
महामहिमहरू,
नेपालको सामाजिक–आर्थिक विकासमा चीनले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ। भृकुटी र अरनिकोले नेपाल–चीनबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण योगदानको स्मरण गर्न चाहन्छु । नेपालले एक चीन नीतिलाई सम्मान गर्दै आएको छ र आपसी मित्रता तथा सहकार्यलाई निरन्तरता दिएको छ। द्विपक्षीय व्यापार, पूर्वाधार विकास, सीमा कनेक्टिभिटी, ऊर्जा, पर्यटन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा हासिल भएका उपलब्धिहरूले दुई देशबीचको मित्रता र सहकार्यलाई थप सुदृढ बनाएका छन्। नेपाल साझा विकास, क्षेत्रीय सहकार्य तथा पारस्परिक हित प्रवर्द्धनका लागि चीन तथा अन्य क्षेत्रीय एवं अन्तराष्ट्रीय साझेदार राष्ट्रहरूसँग मिलेर कार्य गर्न प्रतिबद्ध छ।
अन्त्यमा, नेपालको प्रतिनिधिमण्डललाई यस महत्वपूर्ण फोरममा आमन्त्रण गर्नुभएकोमा सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकार तथा ट्रान्स–हिमालयन फोरम आयोजक समितिप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस फोरमका छलफलहरू फलदायी हुने र क्षेत्रीय सहकार्यका नयाँ आयामहरू सुचारु हुने विश्वास गर्दै, शुभकामना सहित मेरो मन्तव्य यहीँ समाप्त गर्दछु।
धन्यवाद ! श्ये! श्ये ! ताशी देलेक !
(चीनको लिन्जी सहरमा आयोजित ५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको उद्घाटन सत्रमा शुक्रबार प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले दिनुभएको मन्तव्य)