काठमाडौँ — सुनसरीलगायत पूर्वी नेपालका जिल्लाहरूमा हालै घटेका संवेदनशील तथा दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनाबाट उत्पन्न तनावपूर्ण स्थितिप्रति सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै घटनामा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गरिएको छ। साथै, शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दै घाइते सर्वसाधारण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ।

​कुनै पनि असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन नसक्ने स्पष्ट पार्दै रास्वपाले नेपाली समाजको मुख्य शक्ति बहुलवादी संस्कृति, आपसी एकता र सामाजिक सद्भाव रहेको बताएको छ। साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूसँग अपिल गर्दै पार्टीले उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउन आग्रह गरेको छ।

​अवस्थालाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको जनाउँदै रास्वपाले घटनाको जरैसम्म पुगेर स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति तथा निःशुल्क उपचार उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ। यो संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सम्पूर्ण राजनीतिक दलहरूसँग आग्रह गर्दै रास्वपाले आफ्ना स्थानीय समितिका सदस्यहरूलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्नसमेत विशेष निर्देशन दिएको छ।