काठमाडौँ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रुपमा अवलोकन गर्नुभएको छ । एडीबीको सहयोगमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उहाँरुले अवलोकन भ्रमण गर्नुभएको हो ।

अवलोकनका क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गर्नुभयो । अनलाइन तथा स्व–अध्ययन (सेल्फ–लर्निङ) मा आधारित उक्त तालिम एडीबी र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिने जनाइएको छ । तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान तथा डिजिटल दक्षता विकास गराइनेछ ।

कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकता क्षेत्रमा आगामी दिनमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ ।